
ताप्लेजुङ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले ३४ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
नगरपालिकाले ३४ लाख ११ हजार ६ सय ६० रुपैयाँ ८७ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुका अनुसार उक्त रकम जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक र विद्यालय कर्मचारीबाट संकलन गरिएको हो ।
संकलित रकममध्ये जनप्रतिनिधिका तर्फबाट १ लाख ७३ हजार ४ सय ९० रुपैयाँ, कर्मचारीका तर्फबाट ८ लाख १९ हजार ६ सय ५० रुपैयाँ तथा शिक्षक र विद्यालय कर्मचारीका तर्फबाट २४ लाख १८ हजार ५ सय २० रुपैयाँ ८७ पैसा रहेको छ ।
बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले नगरपालिकाले विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी राहत कोषमा जम्मा गरेको जनाएको छ ।

























