आवासदेखि पूर्वाधारसम्म, व्यवस्थित सहर निर्माणको बहसमा विश्वको ध्यान

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार ०६:४६

काठमाडौं । अव्यवस्थित सहरीकरण, आवास अभाव र बढ्दो वातावरणीय जोखिमका बीच आज (शनिबार) विश्व सहरीकरण दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर ३१ मा मनाइने यो दिवसले सहरलाई व्यवस्थित, सुरक्षित, समावेशी र दिगो बनाउने विषयमा विश्वको ध्यानाकर्षण गराउँदै आएको छ ।

सहरको विकास अग्ला भवन र फराकिला सडक निर्माणमा सीमित हुँदैन । त्यहाँ बसोबास गर्ने नागरिकले सहज रूपमा आवास, शिक्षा, स्वास्थ्य, यातायात र आधारभूत सेवा पाउनुपर्छ भन्ने मान्यतालाई यो दिवसले प्राथमिकता दिँदै आएको छ ।

सन् १९४९ मा अर्जेन्टिनाका प्राध्यापक कार्लोस मारियोला मोटाले ब्युनेस आयर्स विश्वविद्यालयबाट सहरी योजना र त्यसले समुदायमा पार्ने प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरेका थिए । त्यसयता सहरीकरणका अवसर, चुनौती र व्यवस्थित सहर निर्माणका विषयमा बहस गर्ने अवसरका रूपमा यो दिवस मनाउन थालिएको हो ।

यस वर्षको दिवसले सहरको पुनरुत्थानः सबैका लागि पर्याप्त आवास’ भन्ने नारामार्फत आवासको समस्यालाई केन्द्रमा राखेको छ । तीव्र गतिमा विस्तार भइरहेका सहरमा सुरक्षित, गुणस्तरीय र किफायती आवासको उपलब्धता सुनिश्चित गर्नु अहिलेको प्रमुख चुनौतीका रूपमा देखिएको छ ।

विशेषगरी अव्यवस्थित बस्ती विस्तार, जनघनत्व वृद्धि, वायु तथा ध्वनि प्रदूषण, कमजोर पूर्वाधार र ग्रामीण क्षेत्रबाट सहरतर्फ बढ्दो बसाइँसराइले सहरी व्यवस्थापनलाई थप जटिल बनाएको छ । जलवायु परिवर्तन र प्राकृतिक विपद्का जोखिमले पनि सहरको दीर्घकालीन योजनामा नयाँ चुनौती थपिरहेका छन् ।

दिवसले सहरी विकासका योजनामा वातावरणमैत्री संरचना, व्यवस्थित बस्ती, प्रभावकारी सार्वजनिक यातायात, पर्याप्त खुला क्षेत्र र विपद् प्रतिरोधी पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ । सहरको विकासमा सबै वर्ग र समुदायको समान पहुँच तथा सहभागिता सुनिश्चित गर्नुपर्ने विषय पनि यस अवसरमा उठाइँदै आएको छ ।

बढ्दो सहरीकरणलाई अवसरमा बदल्दै नागरिकमैत्री र दिगो सहर निर्माण गर्नु नै विश्व सहरीकरण दिवसको मूल सन्देश हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.