डोल्पा कारागारबाट फरार ८ कैदीबन्दीको पहिचान खुल्यो

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १०:४२

डोल्पा । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा आठ जना कम भएपछि उनीहरू फरार भएको खुलेको हो।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान करिब ६ बजे कैदीबन्दी गणना गर्दा उनीहरू नभेटिएपछि घटना सार्वजनिक भएको हो। अहिले कारागारको सीसीटीभी फुटेज अध्ययन गरी घटनाबारे अनुसन्धान भइरहेको उनले बताइन्।

फरार हुनेमा रुकुम पश्चिम, डोल्पा, सल्यान र जाजरकोटका आठ जना छन्। उनीहरूमध्ये छ जना विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका कैदी हुन् भने दुई जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक रहेका छन्।

त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय हरिबहादुर बुढा, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय आदेश भण्डारी पनि फरार भएका छन्।

कारागारबाट सुरुङ खनेर उनीहरू कसरी फरार भए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। फरार कैदीबन्दीको खोजी तथा घटनाको थप विवरण संकलन गर्ने काम भइरहेको कारागार प्रशासनले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.