अकबरे खुर्सानीमा रोगको प्रकोप, किसानको लगानी जोखिममा

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार ०७:३८
उत्पादन लिने बेलामै अकबरे खुर्सानीमा रोगको प्रकोप, किसानको लगानी जोखिममा

इलाम । राम्रो आम्दानीको आशामा अकबरे खुर्सानी खेती विस्तार गरेका इलामका किसान उत्पादन लिने बेलामै बोट मर्न थालेपछि चिन्तित बनेका छन्। फल लाग्न थालेपछि पात पहेँलिने, फल डढ्ने र कुहिने तथा बोट सुक्दै मर्ने समस्या देखिएपछि किसानको वर्षभरिको मिहिनेत र लगानी जोखिममा परेको हो।

माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईले यस वर्ष दुई रोपनी क्षेत्रफलमा एक हजार ८०० अकबरे खुर्सानीका बोट रोपेका थिए। उत्पादन बढाएर आम्दानी वृद्धि गर्ने लक्ष्य राखेका उनको बगानमा फल लाग्ने समयमै रोगको प्रकोप देखिएपछि अधिकांश बोट मर्न थालेका छन्।

दुई वर्षदेखि व्यावसायिक खेती गर्दै आएका राईले अघिल्लो वर्ष खुर्सानी बिक्री गरेर तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए। यस वर्ष खेती विस्तार गरे पनि फलको आधा भाग डढ्ने, कालो हुने र कुहिने समस्या बढेपछि लगानीसमेत नउठ्ने चिन्ता थपिएको उनले बताए।

प्रदीपजस्तै अन्य किसानले पनि अकबरे खुर्सानीमा रोग र कीराको समस्या भोगिरहेका छन्। अर्का किसान जीवन राईका अनुसार फलमा डढुवा लाग्ने, कीरा पर्ने, बोट पहेँलो हुने र कुहिने समस्याले उत्पादनमा असर पारेको छ। दुई हजार बोट रोपेका उनले फल लाग्ने समयमा रोग फैलिएपछि अधिकांश बोट नष्ट भएको बताए।

किसान कल्पना राईले पनि रोगको सङ्क्रमण सुरु भएको एक महिनामै आफ्नो बगानको खुर्सानी नष्ट भएको बताइन्। उत्पादन र आम्दानीको आशा निराशामा परिणत भएपछि उनले खुर्सानी खेती छाडेर अन्य बाली लगाउन थालेकी छन्।

इलाममा उत्पादित अकबरे खुर्सानी स्थानीय बजारसँगै झापाको दमकसम्म बिक्रीका लागि पुग्ने गरेको छ। स्थानीय व्यापारीले बगानबाटै प्रतिकेजी २०० देखि २५० रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन्। परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा राम्रो आम्दानी दिने नगदे बाली मानिएको अकबरे खुर्सानी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ।

तर, उत्पादन लिने बेलामै रोगको प्रकोप देखिएपछि किसानको लगानी डुब्ने जोखिम बढेको छ। रोगको पहिचान र नियन्त्रणका उपायबारे सम्बन्धित निकायबाट आवश्यक सहयोग नपाए व्यावसायिक अकबरे खेतीमा निर्भर किसान थप समस्यामा पर्ने देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.