
काठमाडौं । रोशी खोलाको बाढीले बीपी राजमार्गका सडक संरचना र अस्थायी डाइभर्सन बगाएपछि काठमाडौं र पूर्वी नेपालबीचको यातायात सम्पर्क प्रभावित भएको छ। दुई दिनदेखिको अविरल वर्षापछि शनिबार बिहानदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी रहे पनि सडकमा अपेक्षाभन्दा बढी क्षति पुगेकाले तत्काल यातायात सञ्चालन गर्न कठिन भएको छ।
बाढीले गिम्दीबेँसीसहित पुनर्निर्माण भइरहेको सडकखण्डका विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन बगाएको छ। सडकका केही भागमा समेत क्षति पुगेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलका अनुसार सडक डिभिजन कार्यालय भक्तपुरले बिहानैदेखि आवश्यक उपकरण र जनशक्ति परिचालन गरी सडक खुलाउने काम गरिरहेको छ। तर, क्षति अनुमान गरेभन्दा बढी देखिएकाले यातायात सञ्चालनमा ल्याउन थप समय लाग्ने भएको छ।
गजुरेलले अवस्था अनुकूल रहे दिउँसो २ देखि ३ बजेसम्म सडक खुल्न सक्ने सम्भावना रहेको बताउँदै बीपी राजमार्ग भएर यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेका छन्।
सडक डिभिजन कार्यालय भक्तपुरले यसअघि बिहान १० बजेसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखेर मर्मत तथा डाइभर्सन निर्माणको काम अघि बढाएको थियो। तर, बाढीले पुर्याएको क्षतिका कारण निर्धारित समयमा सडक खुलाउन सम्भव नभएको हो।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वी नेपाल जाने र पूर्वबाट काठमाडौँ आउने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। यात्रुवाहक र मालवाहक सवारीसाधनसमेत विभिन्न स्थानमा रोकिएका छन्।

























