मौसम सफा भएपछि भोजपुरका किसान धान थन्क्याउन व्यस्त

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार ०९:०८

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् ।

धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो । अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन् । कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन् ।

भोजपुर नगरपालिका-५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताए । ‘केही दिनअघिको वर्षाले धान थन्क्याउने काममा ढिलाइ भयो । अहिले मौसम खुलेपछि राहत मिलेको छ’, उनले भने, ‘अर्मपर्म गरेर भए पनि सबैले आ-आफ्नो खेतको धान थन्क्याउने काम गरिरहेका छौँ । अहिले हाम्रो मुख्य काम नै धान भित्र्याउनुभएको छ ।’

किसान अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताए । वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन किसान लागिपरेका उनको भनाइ छ । धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो । जिल्लाका नौ वटै स्थानीय तहमा धानखेती हुँदै आएको छ । मौसममा आएको सुधारले धान भित्र्याउन सहज भए पनि वर्षाका कारण धानबाली केही क्षति पुगेपछि भने किसान चिन्तित बनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.