जंगल क्षेत्रको झाडीमा १४ नाल बन्दुक भेटियो

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार ११:२६

दाङ । दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाई छिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार बिहान ५ देखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा ती बन्दुक बरामद गरिएका हुन् ।

इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका–५ खयरभट्टीस्थित सिमौरा सामुदायिक वनबाट पाँच नाल बन्दुक बरामद गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित सुनछहरी सामुदायिक वन र प्रहरी चौकी हाँसिपुरको टोलीले बंगलाचुली गाउँपालिका–८ पाँचपोखरीस्थित न्यु कालिका सामुदायिक वनबाट एक–एक नाल बन्दुक बरामद गरेको हो ।

यसैगरी, प्रहरी चौकी पुरन्धाराको टोलीले बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट एक नाल, अस्थायी प्रहरी पोस्ट कालाकाटेको टोलीले राप्ती गाउँपालिका–१ स्थित रौसिङखोला बगरनजिकको झाडीबाट पाँच नाल र अस्थायी प्रहरी पोस्ट गर्तीको टोलीले लमही नगरपालिका–३ स्थित नारायणेश्वर सामुदायिक वनबाट एक नाल बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका बन्दुकमध्ये १३ नाल चालु अवस्थामा र एउटा बिग्रिएको अवस्थामा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.