
इलाम । सडक डिभिजन इलामले लामो समयदेखि अलपत्र रहेको सुखानी पक्की पुल निर्माणको ठेक्का अन्त्य गरेको छ । मेची कोरिडोर (मदन भण्डारी राजमार्गसमेत) मा पर्ने उक्त पुल निर्माणका लागि करिब १४ वर्ष चार महिनाअघि सम्झौता भएको थियो । तर निर्माण व्यवसायीले करिब ११ वर्षदेखि काम अलपत्र पारेर कार्यस्थल छाडेपछि डिभिजनले ठेक्का अन्त्य गरेको हो ।
डिभिजनले काम नगर्ने निर्माण व्यवसायी स्काई–अजम्बर–शिवराम जेभी, काठमाडौँलाई कालोसूचीमा राख्न सिफारिस गर्नुका साथै सम्झौता तथा सार्वजनिक खरिदसम्बन्धी कानुनअनुसार अन्य कारबाहीसमेत अघि बढाएको जनाएको छ ।
एक करोड ६२ लाख रुपैयाँ लागतको उक्त पुल निर्माणको जिम्मा पाएको जेभीले करारीय दायित्व पूरा नगरी लामो समयसम्म काम रोकेको थियो ।
डिभिजनले कुनै पनि ठेक्कालाई अनिर्णयको अवस्थामा रहन नदिने जनाएको छ । निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरे सम्बन्धित सरकारी निकायले आफ्नो दायित्व पूरा गर्ने उसको भनाइ छ ।


























