
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कर्मचारीतन्त्रमा आतंक सिर्जना गरिएको आरोप लगाउँदै संसद्को बैठक तत्काल बोलाउन माग गरेका छन् ।
सिंहदरबारमा सभामुख डोलप्रसाद अर्याललाई भेटेपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कर्मचारीलाई कार्यस्थलबाटै उठाएर ल्याउने गरिएको र प्रधानमन्त्री कार्यालय नै यातना गृहजस्तो भएको अनुभूति भइरहेको बताए । संसद्बाहिर उठेका संवेदनशील विषयको निकास संसद्भित्रै खोज्नुपर्ने उनको भनाइ थियो ।
विपक्षी दलहरूको संयुक्त बैठक र कांग्रेस संसदीय दलको बैठकको निर्णय लिएर सभामुखलाई भेट्न पुगेका आङ्देम्बेले देशमा थुप्रै गम्भीर समस्या देखिएकाले संसद्लाई लामो समय निष्क्रिय राख्न नहुने बताए ।
‘अहिले बाहिर आएका विषयहरू अत्यन्तै संवेदनशील छन् । यसलाई बाहिरै राखेर अन्योल सिर्जना गर्नुभन्दा संसद्भित्रै छलफल गराउनुपर्छ र बैठक चाँडै बोलाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौँ,’ उनले भने ।
प्रेसमाथि भइरहेको हस्तक्षेप, न्यायालयभित्र देखिएका विचलन, प्रहरी प्रशासनको कार्यशैली र प्रधानमन्त्री स्वयं जोडिएका विषयमा संसद्मा खुला छलफल आवश्यक रहेको उनले बताए ।
संसद्को आवश्यकता महसुस भइरहेका बेला सरकारले भने अध्यादेशमार्फत अघि बढ्न खोजेको आङ्देम्बेको आरोप थियो । यस्तो प्रवृत्तिले लोकतन्त्र र त्यसको मर्मलाई सकारात्मक सन्देश नदिने उनले बताए ।
यसैगरी, भोटेकोशी र रसुवाका बाढीपहिरो पीडितलाई राज्यले बिर्सिएको उनको गुनासो थियो । विपद्पीडितका लागि ठूलो सहयोग जुटे पनि त्यसको सदुपयोगबारे स्पष्ट जानकारी नभएको र घर भाडाबापत दिने भनिएको १५ हजार रुपैयाँसमेत पीडितले नपाएको उनले बताए ।
‘बजारमा महँगी बढेको छ, बिचौलियाको बिगबिगी छ र सर्वत्र आतंक छ,’ उनले भने, ‘यस्ता जनसरोकारका विषयमा संसद् मूकदर्शक बन्न सक्दैन ।’

























