
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव र एकतालाई थप सुदृढ बनाउने बताएका हुन् । विविधताबीचको राष्ट्रिय एकता अझ बलियो होस् भन्ने कामना पनि उनले गरेका छन् ।
लामिछानेले तिहारलाई उज्यालो, उमङ्ग र उत्साहको पर्व तथा छठलाई आस्था, श्रद्धा र समर्पणको पर्वका रूपमा उल्लेख गर्दै दुवै पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा ल्याओस् भन्ने शुभकामना दिएका छन् ।
यसैबीच, राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व मनाउन रास्वपा जनकपुरधामस्थित गङ्गासागर पुग्ने लामिछानेले जानकारी दिएका छन् ।

























