पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार ०६:४६

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी केही दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी कार्तिक २७ गतेसम्मको मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो।

विभागका अनुसार आगामी पाँच दिन हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने भए पनि तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि यस्तै मौसमी गतिविधि देखिन सक्ने विभागको पूर्वानुमान छ।

त्यसैगरी, कात्तिक २६ गते बिहीबार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने बताइएको छ। उक्त दिन कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

कात्तिक २७ गते शुक्रबार पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने तथा तराईको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यसअघि मंगलबार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार सोमबार राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.