
मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्वलाई भव्य रूपमा मनाउन गंगासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका जलाशय सफा तथा सजाउने काम भइरहेको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जानकारी दिए ।
उनका अनुसार स्थानीयवासीको सहयोगमा विशेषगरी गंगासागर र धनुषसागर छठ घाटको व्यवस्थापनलाई तीव्रता दिइएको छ । यस वर्ष प्रधानमन्त्री वालेन्द्र शाहसमेत छठ पर्वको अवलोकनका लागि जनकपुरधाम जाने तयारी रहेकाले गंगासागर घाटलाई थप आकर्षक बनाउने काम भइरहेको छ ।
यता, जनकपुरधामको पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । बाँसबाट बनेका परम्परागत सामग्रीको माग पनि बढेको स्थानीय सुमित्रादेवी कर्णले बताइन् ।
छठ नजिकिएसँगै बाँसका सामग्री बनाउने डोम समुदायका कारीगरलाई पनि भ्याइनभ्याइ भएको छ । उनीहरूले पुस्तौँदेखि पुर्ख्यौली पेसाका रूपमा छिटी, नाङ्लो र ढाकीजस्ता सामग्री उत्पादन गर्दै आएका छन् । पर्वका बेला यस्ता सामग्रीको माग बढ्ने भएकाले स्थानीय कारीगरको आम्दानीको स्रोतसमेत बन्ने गरेको छ ।

























