
काठमाडौं । भारतसँग हुने यू–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
टोलीमा कप्तान सोनीसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा छन् ।
आगामी वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि नेपाली टोली भारत भ्रमणमा जान लागेको हो । विश्वकपकै तयारीस्वरूप नेपाली टोलीले हालै चीन भ्रमणसमेत गरेको थियो। उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।

























