
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडक खण्डमा यात्रुवाहक ईभी गाडी दुर्घटना भएको छ । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान ५ः४५ बजे भएको दुर्घटनामा गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटना लगत्तै उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन भएका छन् ।
हाल उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरूको अवस्था, घाइते तथा सम्भावित मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

























