
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार (आज) कैदमुक्त हुने भएका छन्। तीन वर्ष छ महिना कारागारमा बिताइसकेका रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाअनुसार रिहा हुन लागेका हुन्।
काठमाडौं जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरिसकेको छ। ६५ वर्ष उमेर पूरा भएका कारण कैद सजायमा छुट पाउनुपर्ने माग गर्दै रायमाझीले अदालतमा निवेदन दिएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो।
तर, ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका व्यक्तिले कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधान छ। रायमाझीले यही सुविधाअनुसार कैद छुट पाएका हुन्। उनी गत कात्तिक २५ गते ६५ वर्ष पुगेका थिए।

























