
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन बुझाउनेछ ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन् ।
प्रजिअ अधिकारीका अनुसार समितिले सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था र सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ । साथै, आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय पनि प्रतिवेदनमा समेटिनेछ ।
भीमफेदी–देउराली सडक खण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै अधिकारीले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए । सवारी साधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्न पर्याप्त नहुने उनको भनाइ छ ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।



















