सन्दीपको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै विराटनगर प्लेअफनजिक

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार १७:२०

काठमाडौं । कप्तान सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेटको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफ सम्भावना बलियो बनाएको छ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। यससँगै विराटनगरले प्रतियोगितामा तेस्रो जित निकाल्दै ६ अंक जोडेको छ।

विराटनगरको जितमा सन्दीपले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले १५औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। सन्दीपले युवराज सिंह सम्रा, चामिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार आउट गरेका थिए। यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन्। साथै, एकै खेलमा ६ विकेट लिने जारी सिजनका पहिलो बलरसमेत बनेका छन्।

लक्ष्य पछ्याउने क्रममा विराटनगरका बसिर अहमदले सर्वाधिक ३७ रन बनाए। लोकेश बलमले ३३ तथा इसुरु उडानाले अविजित २५ रनको योगदान दिए। सेहान जयसूर्या १७ रनमा अविजित रहे। पोखराका रमेश मेन्डिस र कुशल भुर्तेलले समान दुई विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो। उसका लागि युवराज सिंह सम्राले ४७ बलमा सात चौका र पाँच छक्कासहित सर्वाधिक ८४ रन बनाए। धनञ्जय लक्षमले २२ रन जोडे।

यो हारसँगै पोखराको प्लेअफ यात्रा कठिन बनेको छ। ६ खेलमा पाँचौँ हार बेहोरेको पोखरा एक जितसहित अंकतालिकाको पुछारमा छ। यससँगै पोखरा लगातार तेस्रोपटक प्लेअफबाट बाहिरिएको छ। विराटनगर भने तीन जितसहित ६ अंक जोडेर प्लेअफको नजिक पुगेको छ।

आज हुने दोस्रो खेलमा कर्णाली याक्स र अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.