दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, अपराजित यात्रासहित प्लेअफमा

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १६:२९

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संकटपूर्ण अवस्थामा सम्हालेको इनिङ्स र बलरहरूको कसिलो प्रदर्शनको मद्दतमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा प्रवेश गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको कम स्कोरको प्रतिस्पर्धामा सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्‍यो । १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । जितसँगै सुदूरपश्चिम लिग चरणका सात खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सुरुवातमै दबाबमा परेको काठमाडौंलाई जितसम्म पुग्न नसक्नु महँगो पर्‍यो । ४८ रनमै पाँच विकेट गुमाएपछि रासिद खान र दुसान हेमन्थाले छैटौं विकेटका लागि ३४ रन जोड्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, उनीहरूको साझेदारीले जितका लागि पर्याप्त आधार बनाउन सकेन ।

रासिदले अविजित ३५ रन बनाए । ३१ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । हेमन्थाले २१ रनको योगदान दिए । ओपनर साम हिजलेट ११, आदिल आलम ८, सन्तोष यादव १० र कप्तान करण केसी ८ रनमा आउट भए । ओपनिङमा आएका भीम शार्की र सहान अराचिगेले रनको खाता खोल्न सकेनन् ।

सुदूरपश्चिमका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै काठमाडौंलाई लक्ष्यभन्दा टाढै रोके । अनिल खरेलले दुई विकेट लिए भने स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले एक–एक विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । टोलीको सुरुवात निकै कमजोर रह्यो । आठ रनमै चार विकेट गुमाएपछि संकटमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रले धैर्यपूर्ण ब्याटिङ गर्दै उकासेका थिए ।

दीपेन्द्रले ५५ बलमा पाँच चौका र दुई छक्कासहित ६० रन बनाए । उनले आरिफ शेखसँग पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे । आरिफले २५ बलमा १६ रन जोडे । त्यसपछि थरिन्दु रत्नायकेसँग छैटौं विकेटका लागि पनि ५४ रनकै साझेदारी गर्दै दीपेन्द्रले टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए । रत्नायके २६ रनमा अविजित रहे ।

जारी प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए । दुई अर्धशतक पूरा गर्ने उनी प्रतियोगिताका दोस्रो खेलाडी बनेका छन् । काठमाडौंका रासिद खानले पनि यसअघि दुई अर्धशतक बनाइसकेका छन् ।

काठमाडौंका जहानदाद खानले प्रभावकारी बलिङ गर्दै चार ओभरमा एक मेडनसहित २२ रन खर्चेर तीन विकेट लिए । सन्तोष यादवले तीन ओभरमा १६ रन दिँदै दुई विकेट हात पारे ।

सात खेलबाट १० अंक जोडेको सुदूरपश्चिमको शीर्ष दुईमा रहने सम्भावना बलियो बनेको छ । लुम्बिनी लायन्स वा काठमाडौं गोर्खाजमध्ये एक टोली आफ्नो अन्तिम खेलमा पराजित भए सुदूरपश्चिम शीर्ष दुईमा रहने निश्चित हुनेछ ।

लगातार चार खेल जितेको काठमाडौंले भने पहिलो हार बेहोरेको छ । ६ खेलबाट आठ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा छ । शीर्ष दुईमा पुग्ने सम्भावना कायम राख्न उसले लिग चरणको अन्तिम खेलमा आइतबार पोखरा एभेन्जर्सलाई हराउनुपर्नेछ । शीर्ष दुईमा रहन सके काठमाडौंले पहिलो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

तपाइको प्रतिक्रिया
नेप्सेमा १९ अंकको गिरावट 
लामो बिदापछि खुलेको सेयर बजारमा उत्साह देखिएन, नेप्से ६ अंकले ओरालो
रुखबाट खसेर मृत्यु
सर्वोच्चमा चार जना नयाँ न्यायाधीश, प्रधान न्यायाधीश शर्माले गराए शपथ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, अपराजित यात्रासहित प्लेअफमा
केराबारीमा महिलाको मृत्यु प्रकरण : श्रीमान अनुसन्धानको दायरामा, उपचारका लागि धरान पठाइयो
युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलन सुरु
सरकारले दियो सार्वजनिक बिदा
गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ
विराटनगरका १९ वटै वडामा जग्गा बाँडफाँटको बाटो खुल्यो, भू–सेवा पनि सुरु गरिँदै
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 
सुनसरीमा ब्राउन सुगर र गाँजासहित सात जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.