
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङका विभिन्न स्थानमा छठ पर्वको रौनक बढेको छ । पर्वको दोस्रो दिन शनिबार व्रतालुहरू खरनाको तयारीमा जुटेका छन् ।
विराटनगरको सिंघिया खोला किनार, सुनसरी-मोरङ सिँचाइ नहर, केशलिया खोला र आसपासका पोखरीमा बिहानैदेखि श्रद्धालु तथा व्रतालुको चहलपहल देखिएको छ । सिंघिया खोला किनारमा व्रतालु तथा स्थानीयले घाट निर्माण र सजावटको कामलाई तीव्रता दिएका छन् ।
खोला किनार सरसफाइ गरी घाट बनाइएको छ । घाटलाई रङ्गीविरङ्गी कपडाका टेन्टले सजाउने काम पनि भइरहेको छ । छठ पर्वको मुख्य विधिअनुसार व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी गरेका छन् ।
व्रतालुका अनुसार खरनाका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्ने र साँझ गुडमा बनाइएको खीर कुलदेवता तथा छठी मातालाई चढाएर प्रसाद ग्रहण गर्ने परम्परा छ । त्यसपछि सुरु हुने निर्जला व्रतमा व्रतालुहरूले छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ्य दिने गर्छन् ।
छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ ।

























