
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
प्रदेश प्रमुखले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।
प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमतसहित दाबी पेस गर्न आह्वान गरिएको छ। दाबी पेस गर्ने समयसीमा मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म तोकिएको छ।



















