
विराटनगर । मञ्चमा केन्द्रीय स्तरका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहे पनि दर्शक दीर्घाका अधिकांश कुर्सी रित्तै देखिनुले मंगलबार विराटनगरमा आयोजित नेपाली कांग्रेस इतर पक्षको मोरङ जिल्ला अधिवेशनको उद्घाटन सत्र खल्लो बनाएको छ ।
विराटनगरको जैन भवनमा आयोजित अधिवेशनमा डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, विमलेन्द्र निधि, मोहन बस्नेतलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्दा अगाडिदेखि बीच पंक्तिसम्मका धेरैजसो कुर्सी खाली थिए । उपस्थित सीमित कार्यकर्तासमेत छरिएर बसेका र कतिपय मोबाइलमा व्यस्त देखिन्थे । अधिवेशनस्थलमा भेटिएका एक कार्यकर्ताले मान्छे नहुँदा पनि नेताहरूले पुरानै कुरा लम्ब्याएर दिक्क लगाएको गुनासो गरे ।

तर, नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले भने कार्यकर्ताको बाक्लो उपस्थिति रहेको दाबी गरे । बिहान ११ बजेका लागि तय गरिएको उद्घाटन सत्र ढिलोगरी दिउँसो करिब २ बजे मात्र सुरु भएको र कार्यक्रम लम्बिएकाले जिल्लाबाट आएका कार्यकर्ताहरू तितरबितर भएको उनको भनाइ छ ।
गगन थापा नेतृत्वको संस्थापन पक्षले असोजमै १५ औँ महाधिवेशन सम्पन्न गरिसकेको र देउवा पक्षले समानान्तर अधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला मोरङको यो अधिवेशनमा डा. शेखर कोइराला पक्ष (केदार कार्कीबाहेक) अनुपस्थित रह्यो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिटौलाले नाम नलिई तटस्थ बसेका नेताहरू डा. कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्कालक्षित असन्तुष्टि जनाए । उनले पार्टीभित्रको विवादमा तटस्थताले पार नलाग्ने बताउँदै सक्रिय भएर आफ्नो मत जाहेर गर्न आग्रह गरे ।
नयाँ नेतृत्व चयन गर्दै समापन हुने अधिवेशनमा जिल्ला सभापतिका लागि सुवास पौडेल, खगेन्द्र थापा ‘खेम र विनायक पन्तको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत रुपेश कोइरालाले जानकारी दिए । उनका अनुसार पदाधिकारीमा पनि तीन–तीन जनाको उम्मेदवारी परेको छ । बुधबारसम्म सहमतिका लागि समय दिइएको र सहमति नजुटे निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने निर्वाचन समितिले जनाएको छ ।

























