
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘गृहमन्त्रीकी आमा’ भन्दै महिलाको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । यसअघि मङ्गलबार पक्राउ परेका कलाकार छत्र बोगटीसहित यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ ।
बुधबार पक्राउ पर्नेमा दाङका २८ वर्षीय शालिकराम न्यौपाने र दोलखाका ३७ वर्षीय नवरत्न तामाङ छन् । न्यौपाने चलचित्र पत्रकार सङ्घका केन्द्रीय सदस्य हुन् । भक्तपुरको सूर्यविनायकबाट पक्राउ परेका ४२ वर्षीय बोगटी मनोरञ्जन क्षेत्रमा सर्विन बोगटीका नामले परिचित छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार ४९ वर्षीया महिलाले वैयक्तिक गोपनीयता हनन भएको भन्दै तीनै जनाविरुद्ध जाहेरी दिएकी छन् । प्रहरीले वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ अनुसार अनुसन्धान गरिरहेको छ ।
न्यौपानेकी पत्नी अस्मिता पाण्डेले उनी मङ्गलबारदेखि परिवारको सम्पर्कमा नआएको भन्दै बुधबार प्रहरी वृत्त सिंहदरबारमा निवेदन दिएकी थिइन् । प्रहरीले खोजतलास गरिरहेका बेला उनी पक्राउ परेको खुलेको हो ।
प्रहरीका अनुसार न्यौपानेले ‘इन्टरटेनमेन्ट रिल्स’ नामको फेसबुक पेजबाट पहिलो पटक आफूलाई ज्ञानु तामाङ बताउने महिलाको भिडियो पोस्ट गरेका थिए । त्यसपछि अन्य दुई आरोपीले पनि उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए । भिडियोमा महिलाले गृहमन्त्री सुदन गुरुङ आफ्नो छोरा भएको दाबी गरेको सुनिन्छ । तर, ती महिला गृहमन्त्रीकी आमा भएको पुष्टि भएको छैन ।
जोरपाटी क्षेत्रमा बस्दै आएकी ज्ञानु तामाङले विभिन्न ठाउँमा ‘माता’का रूपमा काम गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार महिलाको अनुमति बिना भिडियो खिचेर सार्वजनिक गरी गोपनीयता हनन गरिएको जाहेरीमा उल्लेख छ ।

























