
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार ‘कुमार बेन’विरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकालीमा जाहेरी दिएका हुन् । उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका ईनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि ब्यञ्जनकारले ज्वागलस्थित आफ्नो निवासमा दुई दिनसम्म राखेको आरोप लगाइएको छ । असोज १६ गते राति सवा ९ बजे ती मोबाइल फोन ब्यञ्जनकारको घरमा रहेको प्रहरीकै लोकेसन ट्र्याकिङबाट पुष्टि भएको दाबी जाहेरीकर्ताको छ ।
मोबाइल फोन प्रहरीलाई फिर्ता गरेपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणमा ह्वाट्सएप र फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा चलाइएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको तथा सापकोटा र ब्यञ्जनकारबीचका केही महत्त्वपूर्ण सन्देश मेटाइएको जाहेरीमा उल्लेख छ ।
प्रहरीको आधिकारिक अनुसन्धान प्रक्रियाबाहिर रहेर डिजिटल प्रमाणमा पहुँच पुर्याउँदा अनुसन्धान प्रभावित हुनुका साथै प्रमाण नष्ट भएको र गोपनीयताको हक उल्लङ्घन भएको दाबी जाहेरीमा गरिएको छ । ब्यञ्जनकारले प्रहरी नियन्त्रणमा रहेको डिजिटल प्रमाणमा गैरकानुनी पहुँच पुर्याएको र पदीय शक्तिको दुरुपयोग गरी अनुसन्धान प्रभावित पारेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरिएको छ ।
जेनजी मुभमेन्ट नेपालले जाहेरीसाथ आवश्यक प्रमाण र सञ्चारमाध्यममा प्रकाशित समाचारसमेत पेस गरेको जनाएको छ । संस्थाले मुलुकी अपराध संहिता, सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा प्रचलित कानुनअनुसार अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न माग गरेको छ ।

























