
काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक डा. मनोज केसीले कसैलाई थुन्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त आईजीपी केसीले आफू, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई थुनिदिने भनेको दाबी गरेका थिए । बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
तर, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले ओलीको दाबीअनुसार आईजीपीले त्यस्तो अभिव्यक्ति नदिएको बताए । आईजीपी केसी त्यस्तो औपचारिक कार्यक्रममा सहभागी नभएको र त्यस्तो कुरा पनि नबोलेको उनको भनाइ छ ।
‘आईजीपी साप त्यसरी औपचारिक कार्यक्रममा कहीँ जानुभएको पनि छैन, त्यस्तो बोल्नुभएको पनि छैन,’ प्रवक्ता काफ्लेले भने, ‘उहाँले कुन हिसाबले के भन्नुभएको हो, हामीले पनि बुझेका छैनौँ । प्रहरीले कसैलाई थुन्निदिन्छु भन्ने कुरा पनि भएन ।’

























