
विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकीले उम्मेदवारी दिने भएका छन् । हाल महासंघ कोशी प्रदेश कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसमेत रहेका युवा निर्माण व्यवसायी बुढाथोकीले आगामी नेतृत्वका लागि आफ्नो प्यानलसहित चुनावी तयारी अघि बढाएका हुन् ।
वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दा सफल कार्यकाल सम्पन्न गरेका बुढाथोकी निर्माण व्यवसायीका समस्या, पेसागत मर्यादा र व्यवसायको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै अध्यक्षको दौडमा उत्रिएका हुन् । नेतृत्वमा रहेर प्राप्त गरेको अनुभवलाई अब प्रदेशस्तरको नेतृत्वमार्फत थप प्रभावकारी बनाउने उनको लक्ष्य छ ।
बुढाथोकीले निर्माण व्यवसायलाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन पहल गर्ने, प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गरी निर्माण व्यवसायीका समस्या समाधान गर्ने तथा युवा निर्माण व्यवसायीलाई यस क्षेत्रमा आकर्षित गर्ने एजेन्डा अघि सारेका छन् । त्यस्तै, निर्माण व्यवसायीको क्षमता र दक्षता अभिवृद्धिका लागि नियमित वृत्तिविकाससम्बन्धी तालिम सञ्चालन गर्ने, पेसागत हकहितको संरक्षण गर्ने र व्यवसायीका साझा समस्यालाई संस्थागत रूपमा उठान गरी समाधानका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।
बुढाथोकीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश कार्की उम्मेदवार बन्ने भएका छन् । त्यस्तै, द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा, तृतीय उपाध्यक्षमा मिलन बस्नेत, महासचिवमा सन्तोष बस्नेत, नीतिगत उपमहासचिवमा लीला गुरागाईं, आन्तरिक उपमहासचिवमा चन्द्र पाठक, कोषाध्यक्षमा किशोर भट्टराई र सहकोषाध्यक्षमा मनोज राई उम्मेदवार बन्ने भएका छन् ।
हाल कार्की महासंघ कोशी प्रदेश कार्यसमितिका महासचिव, सापकोटा तृतीय उपाध्यक्ष, सन्तोष बस्नेत कोशीको कोषाध्यक्ष तथा गुरागाईं, पाठक र भट्टराई कोशीका सदस्य हुन् । मिलन बस्नेत निर्माण व्यवसायी संघ झापाका निवर्तमान अध्यक्ष र मनोज राई निर्माण व्यवसायी संघ धनकुटाका निवर्तमान महासचिव हुन् ।
महासंघको प्रदेश कमिटी २१ सदस्यीय हुनेछ । कमिटीमा आठ जना सदस्य निर्वाचनबाट चयन हुनेछन् भने तीन जना सदस्य पछि मनोनीत गरिने व्यवस्था छ । प्रदेशका १४ वटै जिल्लाका निर्माण व्यवसायी संघका अध्यक्ष पदेन सदस्य रहनेछन् ।
नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको १६औँ साधारणसभा तथा नवौँ अधिवेशन मंसिर ४ र ५ गते विराटनगरमा हुँदैछ । महासंघका अध्यक्ष निकोलस पाण्डेले मंसिर ४ गते अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि बन्दसत्र सम्पन्न गरी निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।
मंसिर ५ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । अधिवेशनले आगामी कार्यकालका लागि प्रदेश महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका प्रत्याशी बुढाथोकीले अघि सारेका एजेन्डा र उनको प्यानललाई यसपटकको निर्वाचनमा चासोका साथ हेरिएको छ । बुढाथोकीको टोलीले लामो समयदेखि प्रदेशमा निर्माण व्यवसायीहरुले भोगिरहेका समस्याको अध्ययन गर्दै समाधानका लागि सक्रिय हिसाबले पहल गरिरहेको छ ।

























