
काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी प्रदेशसहित देशका विभिन्न स्थानमा आंशिक बदली भएको छ भने तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा तुवाँलो लागेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा भने तुवाँलो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
त्यस्तै, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
शुक्रबार दिउँसो पनि कोशी र मधेस प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
























