
काठमाडौं । कमिल मिशाराको अविजित शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले मिशाराको अविजित शतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । काठमान्डुका लागि विलियम बोसिस्टोले २८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । भीम सार्कीले १७ बलमा ३ छक्काको मद्दतमा अविजित ३० रन जोडे । सहान अराचिगेले १३ बलमा २ चौका र १ छक्कासहित २४ तथा रासिद खानले १२ रन बनाए ।
ओपनर साहिल पटेल दोस्रो ओभरमै व्यक्तिगत २ रनमा आउट भए । त्यसपछि बोसिस्टोले अर्का ओपनर साम हिजलेटसँग २५ रनको साझेदारी गरे । तर, पाँचौँ ओभरमा हिजलेट ३ रनमा आउट भएपछि काठमान्डुले ३० रनमै दुई विकेट गुमायो ।
बोसिस्टोले रासिद खानसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । तर, बोसिस्टो, रासिद र सहान अराचिगे आउट भएपछि काठमान्डु ९२ रनमा ६ विकेट गुमाउने अवस्थामा पुग्यो । त्यसपछि पनि उसले ठूलो साझेदारी गर्न सकेन । कप्तान करण केसी र जहानदाद खान समान १ रनमा आउट भए । सोनु देवकोटाले ६ र सन्तोष यादवले १० रन बनाए ।
चितवनका रिजन ढकालले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले ४ ओभरमा १५ रन दिँदै ३ विकेट लिए । कुशल मल्ल र सलाउद्दिन खानले एक–एक विकेट लिए । चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स फाइनल पुगिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।



















