
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले दक्षिणपन्थी, स्वेच्छाचारी तथा फासिस्ट प्रवृत्तिविरुद्ध संघर्ष गर्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
दैलेखमा आयोजित पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै नेता पुनले पछिल्लो समय राजनीतिक वृत्तमा निराशा र हतासाको मनोविज्ञान बढ्दै गएको उल्लेख गर्दै त्यसबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले चुनाव वा अन्य राजनीतिक प्रतिस्पर्धामा जित्दा विपक्षीलाई कमजोर ठान्ने र पराजित हुँदा विपक्षीलाई अत्यन्त शक्तिशाली ठानेर निराश हुने प्रवृत्ति उचित नभएको बताए । कम्युनिस्ट आन्दोलनसँगै आफूलाई प्रजातान्त्रिक शक्ति भन्ने दलहरूमा समेत निराशा र हतासाको भावना देखिएको उनको भनाइ थियो ।
पुनले नेकपा र एमालेका नेताहरूबीच सहकार्य तथा पार्टी एकताका विषयमा छलफल हुने गरेको उल्लेख गर्दै हतारमा एकता वा गठबन्धन गर्नुपर्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताए । राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै धैर्य र संयमताका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
चुनाव जितेको अवस्थामा आफ्नो शक्तिलाई संयमित र सही ढङ्गले प्रयोग गर्नुपर्ने तथा पराजित भएको अवस्थामा निराश नभई परिस्थितिको सामना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
यद्यपि, संविधान र वर्तमान राजनीतिक व्यवस्थाको रक्षाका लागि सडक र सदन दुवै मोर्चामा एमालेसँग सहकार्य गर्न सकिने उनले बताए । संविधान र व्यवस्थाको संरक्षणका लागि प्रतिबद्ध प्रजातान्त्रिक शक्तिहरूसँग समेत सहकार्य आवश्यक रहेको पुनको धारणा थियो ।
उनले संविधान र व्यवस्थाको रक्षाका लागि सहकार्य गर्ने विषयमा आम नागरिक तथा पार्टीका नेता–कार्यकर्तालाई तयार गर्नुपर्ने आवश्यकता औँल्याए ।

























