३६२ आयोजना र निर्माण व्यवसायीलाई जोगाउनु मेरो पहिलो प्राथमिकता हो : केशरकुमार बुढाथोकी (भिडियोसहित)

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार १८:५८

निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको १६औँ साधारणसभा तथा नवौँ अधिवेशन मंसिर ४ र ५ गते (शुक्रबार र शनिबार) विराटनगरमा हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि प्रदेशका निर्माण व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ । अध्यक्षका प्रत्याशी एवं महासंघ कोशीका वर्तमान वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकी आफ्नो प्यानलसहित चुनावी मैदानमा छन् ।

निर्माण व्यवसायी संघ उदयपुरको सदस्य हुँदै सचिव, महासंघ कोशीको नीतिगत उपमहासचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका बुढाथोकीले निर्माण व्यवसायीका समस्या समाधान, ३६२ वटा आयोजनाको म्याद थप, समयमा भुक्तानी, मूल्य समायोजन र युवा पुस्तालाई निर्माण क्षेत्रमा आकर्षित गर्ने एजेन्डा अघि सारेका छन् । उनै बुढाथोकीसँग ‘मुलुकी खबर’ले गरेको कुराकानीको सम्पादित अंश :

१, निर्माण व्यवसायीले अहिले मुख्य रूपमा कस्ता समस्या भोगिरहेका छन् ?

– निर्माण उद्योग अहिले विभिन्न समस्याबाट गुज्रिरहेको छ । निर्माण सामग्रीको अभाव, समयमा भुक्तानी नहुनु, मूल्यवृद्धि, सार्वजनिक खरिद ऐन तथा नियमावलीका जटिलता र आयोजना सम्पन्न गर्ने समयावधि मुख्य समस्या हुन् । कतिपय अवस्थामा ‘साइट क्लियरेन्स’ नगरी ठेक्का लगाइन्छ । नदीजन्य निर्माण सामग्रीको अभावले वर्षमा तीनदेखि चार महिना काम प्रभावित हुन्छ । तर, त्यो समय पनि निर्माण अवधिमै गणना हुन्छ । सरकारले व्यवसायीलाई जिम्मेवार बनाउनेसँगै आफ्नो दायित्व पनि पूरा गर्नुपर्छ ।

२, अध्यक्ष निर्वाचित हुनु भयो भने यी समस्या समाधानका लागि के गर्नुहुन्छ ?

– प्रदेश सरकारका मन्त्रालय, मुख्यमन्त्री, सचिव तथा सम्बन्धित निकायसँग नियमित संवाद र समन्वय गर्नेछु । निर्माण सामग्रीको मूल्यवृद्धिअनुसार मूल्य समायोजन, सामग्रीको सहज उपलब्धता र नियमित भुक्तानीलाई प्राथमिकतामा राख्नेछु । निर्माण व्यवसायको प्राण भनेकै ‘क्यास फ्लो’ अर्थात् नगद प्रवाह हो । समयमै भुक्तानी नपाए व्यवसायीले अर्को आयोजना अगाडि बढाउन सक्दैनन् । व्यवसायीले पनि सम्झौताअनुसार गुणस्तरीय काम गर्नुपर्छ ।

३, निर्माण व्यवसायीले ठेक्का लिने तर समयमा काम नगर्ने र गुणस्तरहीन काम गर्ने गुनासा पनि छन् नि ?

– निर्माण क्षेत्रमा देखिएका करिब ८० प्रतिशत समस्या सरकारकै कारण सिर्जना भएका छन् भन्ने हाम्रो बुझाइ छ । ‘साइट क्लियरेन्स’ नहुनु, जग्गा तथा पूर्वाधार उपलब्ध नहुनु, निर्माण सामग्रीको अभाव र भुक्तानीमा समस्या हुनु यसका प्रमुख कारण हुन् । गुणस्तरमा भने कुनै सम्झौता हुनु हुँदैन । अहिलेका व्यवसायी प्रविधिको विकाससँगै गुणस्तरप्रति सचेत छन् । गुणस्तरीय कामका लागि सरकारले पनि आवश्यक वातावरण तयार गर्नुपर्छ ।

४, तपाईंको नेतृत्वमा साना तथा मझौला व्यवसायीका लागि के योजना छ ?

– साना तथा मझौला व्यवसायी आर्थिक रूपमा बढी प्रभावित छन् । बैंकको ब्याज, सामग्रीको मूल्यवृद्धि र भुक्तानीमा ढिलाइ हुँदा उनीहरूलाई व्यवसाय सञ्चालन गर्न कठिन हुन्छ । महासंघ सबै आकार र क्षमताका व्यवसायीको साझा संस्था भएकाले उनीहरूका समस्यालाई पनि प्राथमिकताका साथ उठाउनेछु ।

५, निर्माण व्यवसायमा युवा पुस्ताको आकर्षण घटिरहेको छ । पुस्तान्तरणका लागि तपाईंको योजना के छ ?

– निर्माण उद्योगमा पुस्तान्तरणको समस्या छ । युवाहरू विदेश जाने क्रम बढेको छ । स्वदेशमै व्यावसायिक अवसर र सम्भावना देखाउन आवश्यक छ । मेरो योजना ४० वर्षमुनिका निर्माण व्यवसायीलाई एकत्रित गरी छुट्टै संगठन स्थापना गर्ने हो । त्यसबाट अनुभव आदानप्रदान, क्षमता विकास र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिनेछ । निर्माण व्यवसायलाई मर्यादित र आकर्षक बनाएर नयाँ पुस्तालाई जोड्नुपर्छ ।

६, तपाईंको प्यानलमा पुरानै अनुहार बढी देखिए भन्ने टिप्पणी पनि छ नि ?

– त्यस्तो होइन । हाम्रो विधानले नै नेतृत्वमा आउने योग्यता र प्रक्रिया निर्धारण गरेको छ । जिल्ला र प्रदेश तहमा निश्चित अवधि काम गरेको अनुभव आवश्यक हुन्छ । हाम्रो टिममा नयाँ व्यवसायी पनि हुनुहुन्छ । संस्थागत अनुभव भएका अग्रज र नयाँ सोच भएका युवालाई सँगै लिएर अघि बढ्ने हाम्रो उद्देश्य हो ।

७, तपाईंको चुनावी टिममा को–को हुनुहुन्छ ?

– अध्यक्षमा मेरो उम्मेदवारी रहँदा वरिष्ठ उपाध्यक्षमा रमेश कार्की, द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा, तृतीय उपाध्यक्षमा मिलन बस्नेत, महासचिवमा सन्तोषकुमार बस्नेत, नीतिगत उपमहासचिवमा लीला गुरागाईं र आन्तरिक उपमहासचिवमा चन्द्र पाठक उम्मेदवार हुनुहुन्छ । कोषाध्यक्षमा किशोर भट्टराई र सहकोषाध्यक्षमा मनोज चाम्लिङ राई हुनुहुन्छ । हाम्रो उद्देश्य निर्माण व्यवसायीका साझा समस्या समाधान गर्दै महासंघलाई प्रभावकारी बनाउनु हो ।

८, अर्को प्रतिस्पर्धी टिम पनि चुनावी मैदानमा छ । आफ्नो जित्ने आधार के देख्नुहुन्छ ?

– हाम्रो आधार संस्थागत अनुभव, व्यवसायीका समस्या बुझ्ने क्षमता र काम गर्ने प्रतिबद्धता हो । म जिल्ला तहदेखि प्रदेश तहसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेको छु । व्यवसायीका समस्या के हुन् र समाधानका लागि कहाँ कसरी पहल गर्नुपर्छ भन्ने अनुभव छ । हामी पदका लागि मात्रै नभएर व्यवसायीको पेसागत हकहित संरक्षण र समस्या समाधानका लागि चुनावमा आएका हौँ ।

९, अध्यक्षमा निर्वाचित हुनु भयो भने पहिलो प्राथमिकता के हुनेछ ?

–मेरो पहिलो प्राथमिकता कोशी प्रदेश सरकारअन्तर्गत समस्यामा परेका ३६२ वटा सालबसाली आयोजनाको म्याद थप गराउनु हो । ती आयोजनाको म्याद गत असारमा सकिएको छ । अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्दा व्यवसायीले निर्धारित समयमा काम सम्पन्न गर्न सकेका छैनन् ।

हामीले पटक–पटक प्रदेश सरकारसँग समन्वय र वार्ता गरेर समस्या राखेका छौँ । हाम्रो जानकारीअनुसार अन्य ६ वटा प्रदेशले निर्माण आयोजनाको म्याद थप गरिसकेका छन् । तर, कोशीमा अहिलेसम्म निर्णय भएको छैन । यो कुनै अनुचित सुविधा मागिएको विषय होइन । मूल्यवृद्धिका कारण सिर्जित समस्यालाई सम्बोधन गर्नुपर्ने माग हो । त्यसैले निर्वाचित भएलगत्तै प्रदेश सरकारसँग समन्वय गरेर ३६२ आयोजनाको म्याद थप गराउन पहल गर्नेछु ।

१०, अन्त्यमा, निर्माण व्यवसायीलाई के भन्न चाहनुहुन्छ ?

– मैले विगतमा संस्थामा रहेर गरेको काम र व्यवसायीका समस्या समाधानका लागि गरेको पहललाई मूल्यांकन गरिदिनुहुन आग्रह गर्दछु । ३६२ आयोजनाको म्याद थप, नियमित भुक्तानी, निर्माण सामग्रीको सहज उपलब्धता, मूल्य समायोजन, नीतिगत जटिलताको अन्त्य र युवा पुस्तालाई निर्माण व्यवसायमा आकर्षित गर्नु मेरा प्रमुख एजेन्डा हुन् ।

म एक्लैले सबै समस्या समाधान गर्छु भन्ने दाबी गर्दिनँ । तर, व्यवसायी साथीहरूलाई साथमा लिएर सरकारी निकायसँग निरन्तर संवाद, समन्वय र आवश्यक दबाब सिर्जना गर्दै समाधानका लागि इमानदारीपूर्वक काम गर्नेछु । अनुभव, योजना र काम गर्ने इच्छाशक्तिलाई मूल्यांकन गरेर मलाई र मेरो टिमलाई विश्वास गरिदिनुहुन सम्पूर्ण निर्माण व्यवसायी साथीहरूलाई आग्रह गर्दछु ।

तपाइको प्रतिक्रिया
उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
चितवनको चुनौती पन्छाउँदै सुदूरपश्चिम फाइनलमा
रोहिंग्या नरसंहारमा अन्तर्राष्ट्रिय न्यायालयद्वारा म्यानमार दोषी ठहर
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
केराबारीमा ३७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास
केराबारीमा महिलाद्वारा आत्मदाहकाे प्रयास
३६२ आयोजना र निर्माण व्यवसायीलाई जोगाउनु मेरो पहिलो प्राथमिकता हो : केशरकुमार बुढाथोकी (भिडियोसहित)
एमालेको प्रतिवेदनमा छैन कम्युनिस्ट एकताको चर्चा
एमाले केन्द्रीय कमिटीका २१ बुँदे निर्णय सार्वजनिक, के–के छन् प्रस्तावमा ?
कोशीमा निर्माण व्यवसायीको चुनाव : केशरकुमार बुढाथोकीको नेतृत्वमा नयाँ खाका, संकट समाधानदेखि पुस्तान्तरणसम्म
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.