
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार चौधरीले सेवामा रहँदा बढुवा तथा पदस्थापनका लागि भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने प्रवीणता प्रमाणपत्र तहको लब्धाङ्कपत्र, अस्थायी प्रमाणपत्र, कलेज छोडेको पत्र, चारित्रिक प्रमाणपत्र र स्थानान्तरण प्रमाणपत्रलगायत नक्कली शैक्षिक कागजात पेस गरेका थिए ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ती प्रमाणपत्रका आधारमा चौधरी राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख अनुसन्धान अधिकृत पदसम्म बढुवा भएका थिए । उनले राष्ट्रसेवकको हैसियतमा पद, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो ।
चौधरीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको आयोगले जनाएको छ ।

























