
विराटनगर । निर्माण व्यवसाय क्षेत्रका समस्या समाधान, व्यवसायीको पेसागत सुरक्षा र नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने एजेन्डासहित निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
मंसिर ४ र ५ गते (शुक्रबार र शनिबार) विराटनगरमा हुने महासंघको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनमा अध्यक्ष पदका प्रत्याशी केशरकुमार बुढाथोकीले निर्माण व्यवसायीका तत्कालीन समस्या तथा निर्माण उद्योगको संकट समाधानदेखि व्यवसायको पुस्तान्तरणसम्मका योजना अघि सारेका छन् । महासंघ कोशी प्रदेशका वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका बुढाथोकीले निर्माण उद्योग अहिले सरकारी नीतिगत जटिलता, निर्माण सामग्रीको अभाव, भुक्तानीमा ढिलाइ र मूल्यवृद्धिजस्ता समस्याले घेरिएको बताए । उनका अनुसार निर्माण व्यवसायीले भोगिरहेका अधिकांश समस्या सरकारी निकायको कार्यशैली र नीतिगत व्यवस्थासँग जोडिएका छन् ।
बुढाथोकीले आफू अध्यक्षमा निर्वाचित भए निर्माण व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकार, सम्बन्धित मन्त्रालय, मुख्यमन्त्री तथा सचिवहरूसँग नियमित समन्वय गर्ने बताए । निर्माण उद्योगमा दैनिक नयाँ समस्या थपिने र कानुनी झन्झटसमेत निरन्तर रहने भएकाले समस्याको प्रकृतिअनुसार समाधान खोज्ने उनको भनाइ छ ।
उनले निर्माण कार्य समयमा सम्पन्न हुन नसक्नुमा व्यवसायीको मात्र कमजोरी नरहेको दाबी गरेका छन् । कतिपय आयोजना आवश्यक ‘साइट क्लियरेन्स’ नै नगरी ठेक्का लगाइने, नदीजन्य निर्माण सामग्रीको अभाव हुने र वर्षमा तीनदेखि चार महिनासम्म खोलाबाट सामग्री उत्खनन तथा संकलन गर्न नपाइने अवस्थाले काम प्रभावित हुने गरेको बुढाथोकीले बताए । सामग्री उपलब्ध नहुने समयलाई समेत निर्माण अवधि गणना गरिँदा व्यवसायी थप मारमा पर्ने उनको तर्क छ ।
त्यस्तै, असार १५ देखि असोजसम्म कोष तथा लेखा नियन्त्रक कार्यालय र महालेखा नियन्त्रक कार्यालयका सरकारी खाताहरू बन्द हुने अवस्थाले भुक्तानी प्रक्रिया प्रभावित हुने गरेको उनले उल्लेख गरे । निर्माण व्यवसायीले काम गरिरहे पनि भुक्तानी नपाउँदा आर्थिक चक्र प्रभावित हुने भन्दै त्यस्तो अवधिलाई निर्माण समय गणना गर्न नहुने उनको भनाइ छ ।
बुढाथोकीले निर्माण व्यवसायको मुख्य समस्या क्यास फ्लो अर्थात् नगद प्रवाह भएको बताएका छन् । मूल्यवृद्धिअनुसार मूल्य समायोजनको व्यवस्था, निर्माण सामग्रीको सहज उपलब्धता र समयमै भुक्तानी हुन सके निर्माण व्यवसायीले निर्धारित समयमै गुणस्तरीय काम गर्न सक्ने उनको भनाइ छ । अहिलेका व्यवसायी र सरकारी प्राविधिक निकाय दुवै गुणस्तरप्रति सचेत रहेको भन्दै बुढाथोकीले गुणस्तरहीन कामको आरोपलाई पनि अस्वीकार गरेका छन् ।
उनको पहिलो प्राथमिकता भने कोशी प्रदेशका ३६२ वटा सालबसाली आयोजनाको म्याद थप गराउनु रहेको छ । पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धिका कारण काम गर्न नसकेको अवस्थामा अन्य छ प्रदेशले निर्माण व्यवसायीका आयोजनाको म्याद थप गरिसके पनि कोशीमा अझै निर्णय नभएको उनले बताए । पटकपटक प्रदेश सरकारसँग समन्वय र वार्ता गर्दा पनि समस्या सम्बोधन नभएको उनको भनाइ छ । अध्यक्षमा निर्वाचित भए पहिलो काम नै ती ३६२ आयोजनाका निर्माण व्यवसायीलाई राहत दिलाउन पहल गर्नु हुने उनले बताएका छन् ।
बुढाथोकीले साना तथा मझौला निर्माण व्यवसायीका समस्या समाधानलाई पनि प्राथमिकतामा राखेका छन् । प्रदेश सरकारसँग समन्वय गरेर व्यवसायीका समस्या संस्थागत रूपमा उठाउने र समाधानका लागि दबाब सिर्जना गर्ने उनको योजना छ ।
युवा निर्माण व्यवसायीलाई यस क्षेत्रमा टिकाइराख्न ४० वर्षमुनिका व्यवसायीलाई एकत्रित गरी छुट्टै युवा निर्माण व्यवसायी संघ स्थापना गर्ने उनको अर्को महत्त्वाकांक्षी योजना छ । निर्माण उद्योगमा पुस्तान्तरण हुन नसकेको उल्लेख गर्दै उनले व्यवसायीका सन्ततिलाई सानैदेखि यस क्षेत्रमा प्रेरित गर्नुपर्ने बताए । उच्च शिक्षा पूरा गरेपछि युवाहरू विदेशिने प्रवृत्ति बढिरहेको अवस्थामा निर्माण व्यवसायलाई व्यवस्थित र आकर्षक बनाएर नयाँ पुस्तालाई जोड्न सकिने उनको विश्वास छ ।
बुढाथोकीको नेतृत्वमा रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रमेश कार्की, द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा, तृतीय उपाध्यक्षमा मिलन बस्नेत, महासचिवमा सन्तोषकुमार बस्नेत उम्मेदवार छन् । त्यस्तै, नीतिगत उपमहासचिवमा लीला गुरागाईं, आन्तरिक उपमहासचिवमा चन्द्र पाठक, कोषाध्यक्षमा किशोर भट्टराई र सहकोषाध्यक्षमा मनोज चाम्लिङ राई रहेका छन् ।
प्यानलमा अधिकांश यसअघि महासंघको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका व्यवसायी छन् । महासंघको विधानअनुसार जिल्ला तहमा एक कार्यकाल सदस्य नभई प्रदेश सदस्य बन्न र प्रदेशमा एक कार्यकाल सदस्य नभई पदाधिकारीमा उम्मेदवारी दिन नपाइने भएकाले अनुभवी व्यवसायीलाई समेटिएको बुढाथोकीले बताए । यद्यपि, आफ्नो टिममा चार जना नयाँ व्यवसायीसमेत रहेको उनले बताए ।
बुढाथोकीले निर्माण व्यवसायी संघ उदयपुरको सदस्य र सचिव हुँदै महासंघ कोशी प्रदेशको नीतिगत उपमहासचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । हाल वरिष्ठ उपाध्यक्ष रहेका उनी आफूले विगतमा गरेको काम र व्यवसायीका समस्या समाधानका लागि निर्वाह गरेको भूमिकालाई नै जितको आधार मान्छन् । आफ्नो नेतृत्वमा रहेको टिम निर्माण व्यवसायीका समस्या बुझेको र तिनको समाधानका लागि व्यावसायिक क्षमता भएको समूह रहेको उनले बताए ।
अधिवेशनमा सहमतिको प्रयास पनि गरिने बुढाथोकीले बताएका छन् । मंसिर ४ गते उम्मेदवारी दर्तापछि सहमतिको प्रयास हुने र सहमति नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुनेछ । मंसिर ५ गते हुने निर्वाचनले २१ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछ । आठ सदस्य निर्वाचनबाट चुनिनेछन् भने तीन जना मनोनीत हुनेछन् । प्रदेशका १४ वटै जिल्लाका निर्माण व्यवसायी संघका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।
निर्माण उद्योगमा देखिएका समस्या एवं सकटको समाधान, पुस्तान्तरण, ३६२ आयोजनाको म्याद थप, नियमित भुक्तानी र युवा पुस्ताको सहभागिता सुनिश्चित गर्ने बुढाथोकीका योजनाले कोशी प्रदेश निर्माण व्यवसायी महासंघको आगामी निर्वाचनलाई चासोपूर्ण बनाएको छ ।
निर्माण व्यवसायी महासंघ कोशीको अध्यक्षमा केशरकुमार बुढाथोकीको उम्मेदवारी, यस्तो छ प्यानल

























