
काठमाडौं । थारिन्दु रत्नायकेको संयमित ब्याटिङको मद्दतमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।
चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । कठिन अवस्थामा क्रिजमा टिकेर खेलेका थारिन्दुले टोलीलाई जितसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । उसका लागि डाविड मलानले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । सलाउद्दिन खानले १८ तथा कमलसिंह ऐरीले १० रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले तीन तथा थारिन्दु रत्नायकेले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हेमन्त धामीले एक–एक विकेट हात पारे ।
यस जितसँगै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनल पुगिसकेको छ ।

























