
काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका साथै उपत्यका र खोँचका केही स्थानमा भने हुस्सु तथा कुहिरो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने तथा अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । तराईका साथै उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



















