कोशी प्रदेशमा एकै दिन १९ सवारी दुर्घटना, ३० जना घाइते

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार ०७:५१

विराटनगर । कोशी प्रदेशका मोरङ, झापा, सुनसरी र उदयपुर जिल्लामा बिहीबार एकै दिन भएका १९ वटा सवारी दुर्घटनामा परी बालबालिकासहित ३० जना घाइते भएका छन् । ती दुर्घटनामा बस, ट्रक, हायस, ईभी, मोटरसाइकल, स्कुटर र सिटी सफारी संलग्न रहेका छन् ।

प्रहरीको विवरणअनुसार झापामा भएका विभिन्न दुर्घटनामा १६, मोरङमा ८ जना, सुनसरीमा ४ जना र उदयपुरमा २ जना घाइते भएको उल्लेख छ ।
मोरङको विराटनगर महानगरपालिका–४ मा ईभी भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते भएका छन् । विराटनगर–१७ मा स्कुटरको ठक्करबाट चार वर्षीया बालिका घाइते भएकी छन् । त्यस्तै, विराटनगर–१३ को कोशी लोकमार्गमा ईभी गाडीको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । पथरीशनिश्चरे, कानेपोखरी, रतुवामाई र उर्लाबारीमा पनि दुर्घटना भएका छन् ।

झापाको दमकमा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् । कमल गाउँपालिका–४ मा ईभी गाडी रोकिराखेको ट्रकमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन् । त्यस्तै, मेचीनगरमा सिटी सफारीको ठक्करबाट आठ वर्षीया बालिका घाइते भएकी छन् । भद्रपुरमा बसबाट ओर्लने क्रममा एक महिला लडेर घाइते भएकी छन् भने गौरादहमा सिटी सफारी अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन् ।

सुनसरीको हरिनगरामा मोटरसाइकलको ठक्करबाट १६ वर्षीया किशोरी र सिटी सफारीको ठक्करबाट तीन वर्षीय बालक घाइते भएका छन् । बर्जुमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते भएकी छन् भने कोशी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–७ होक्सेमा हायस र मोटरसाइकल ठोक्किँदा चालक र उनकी श्रीमती घाइते भएका छन् । मोटरसाइकलमा सवार उनीहरूकी १९ महिने छोरी भने सकुशल रहेकी छन् । घाइते दम्पतीलाई थप उपचारका लागि विराटनगरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक विवरणमा तीव्र गति, चालकको लापरबाही, लेन अनुशासन पालना नगर्नु, साँघुरो तथा अँध्यारो सडक र सडक पार गर्दा पर्याप्त सावधानी नअपनाउनु दुर्घटनाका कारणका रूपमा उल्लेख छन् । प्रहरीले सवारीसाधन चलाउँदा ट्राफिक नियम पालना गर्न, गति नियन्त्रण गर्न र पैदलयात्री तथा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.