
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति जनाएको छ ।
बैंककमा आयोजित एएफसी अवार्ड्सका अवसरमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।
भेटका क्रममा एन्फामाथिको निलम्बन फुकुवा, कानुनी प्रक्रिया र तहगत निर्वाचनका विषयमा सकारात्मक छलफल भएको मन्त्री पोखरेलले जानकारी दिए । उनले फिफा र एएफसीका प्रतिनिधिलाई उपहारसमेत प्रदान गरेका थिए ।
एन्फाले तहगत निर्वाचन गर्ने सहमति जनाएपछि राखेपले प्रतिबन्ध फुकुवा गरेको हो । राखेपको निर्णयसँगै अब आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने अपेक्षा गरिएको छ ।

























