
काठमाडौं । निर्वाचन आयोग आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। निर्वाचनको मिति घोषणा तथा आवश्यक व्यवस्थापनका विषयमा आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल र परामर्श प्रक्रिया अघि बढाएको हो।
आयोगले शुक्रबार (आज) बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनका विषयमा आवश्यक परामर्श गर्न दलहरूलाई बोलाइएको जानकारी दिए।
उनका अनुसार छलफलमा निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा दलहरूको सुझाव लिइनेछ। राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले)०, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्।
स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ। कार्यकाल सकिन लागेसँगै आयोगले नयाँ निर्वाचनको तयारी, मिति निर्धारण र निर्वाचन व्यवस्थापनका विषयमा गृहकार्य अघि बढाएको हो।

























