
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आगामी आइतबारदेखि हुने दुईदिने भारतको राजकीय भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयले प्राथमिकता पाउने भएका छन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिन शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृतबहादुर राईले आपसी सहयोग र सहकार्यका साथै विकास निर्माण तथा आर्थिक गतिविधिसम्बन्धी विषयलाई प्राथमिकता दिइने बताए ।
सचिव राईका अनुसार औपचारिक भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिने उनले जानकारी दिए । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने विश्वास गरिएको छ ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत बिजनेस फोरम पनि आयोजना गरिने भएको छ । फोरममा भारतीय व्यवसायीका चासो र सरोकार सम्बोधन गर्ने प्रयास गरिनेछ । साथै उनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरिनेछ । कार्यक्रममा भारतीय लगानी थप आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासबारे पनि जानकारी गराइनेछ । यसले नेपाली र भारतीय व्यवसायीबीच सहकार्यको सेतुको काम गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको राजकीय भ्रमणमा नेपालको निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनेछ । निजी क्षेत्रका उद्यमी तथा व्यवसायी सम्मिलित ५२ सदस्यीय टोली आफ्नै खर्चमा भ्रमण दलमा सहभागी हुने भएको छ ।
प्रधानमन्त्री शाहले मङ्सिर ७ गते सोमबार भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन् ।
प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

























