
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई राजनीतिक लडाइँको थलोका रूपमा व्याख्या गरेका छन् ।
एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई शुक्रबार पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले स्थानीय तहबाटै जनताको समर्थन र विरोध व्यक्त हुने भएकाले आगामी निर्वाचन महत्वपूर्ण हुने बताए ।
‘मान्छे खुसी हुने, रिसाउने, पक्षमा आउने, विपक्षमा जाने त्यहीँ (स्थानीय तह) बाट हुन्छ । त्यसो भएकाले अहिले लडाइँको थलो स्थानीय तहको निर्वाचन बन्नेवाला छ’, ओलीले भने, ‘स्थानीय तहको निर्वाचन भनेको त्यही लडाइँको थलो हो ।’
ओलीले स्थानीय जनप्रतिनिधिहरूलाई विगतमा कुनै कमजोरी भएका भए समयमै सुधार्न पनि निर्देशन दिए । ‘यदि पौने चार वर्षजति पोखियो भने हतारहतार उठाउनुस्, हतारहतार मिलाउनुस्’, उनले भने ।

























