अनलाइन ठगी गरेर रकम भारत पठाउने गिरोहका चार जना विराटनगरमा पक्राउ

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार ११:२७
उदयपुरमा बोल्न नसक्ने किशोरीमाथि बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ

विराटनगर । नेपाली नागरिकका बैंक खाता प्रयोग गरी अनलाइन ठगी गरेर प्राप्त रकम संकलन गरी भारत हुँदै अन्य देश पठाउने गिरोहका चार जना विराटनगरमा पक्राउ परेका छन् ।

मोरङ प्रहरीले पक्राउ गरेकामध्ये दुई जना भारतीय र दुई जना नेपाली नागरिक छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत बेतिया जिल्ला चुरना चौबेक स्थायी घर भई हाल विराटनगर महानगरपालिका–४ एयरपोर्ट मोडमा बस्दै आएका २६ वर्षीय ताहिर हुसेन, बिहारको कठिहार जिल्ला ड्राइभर टोल स्थायी घर भई विराटनगर–४ मा डेरा गरी बस्ने ३६ वर्षीय गुड्डु भन्ने भनिने मोहमद सावुदिन, विराटनगर–१७ का ३१ वर्षीय जफर आलम र विराटनगर–९ का २३ वर्षीय फैयाज खान रहेका हुन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेकाहरुले नेपाली नागरिकलाई साथी बनाएर विभिन्न बैंक तथा डिजिटल वालेटका खाता नम्बर माग्ने गरेका थिए । साथीको खातामा पैसा पठाउनुपर्ने तर आफ्नो खाता नभएको भन्दै उनीहरूले अरूका बैंक खाता र ई–सेवा नम्बर संकलन गरी अनलाइन ठगी गर्ने गरेको मिश्रको भनाइ छ ।

ती खातामा रकम जम्मा भएपछि फैयाज खानले सम्बन्धित व्यक्तिलाई सम्पर्क गरी नगद नै निकालेर रकम दिन लगाउने गरेको जाहेरीमा उल्लेख छ । रकम उपलब्ध गराएबापत खातावालालाई दुई प्रतिशत दिने र बाँकी रकम आफैँले लिने गरेको पाइएको छ ।

फैयाजले संकलित रकममध्ये आफूले १० प्रतिशत राखेर बाँकी रकम गुड्डु भन्ने मो. सावुदिन र जफर आलमलाई दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले पनि १० प्रतिशत कमिसन राखेर बाँकी रकम ताहिर हुसेनलाई बुझाउने गरेको जानकारी मिश्रले दिए ।

उनका अनुसार ताहिरले उक्त रकम पाकिस्तानी नागरिकहरूसँगको सम्पर्कमा रहेर उनीहरूले भनेअनुसार भारतका विभिन्न बैंक खातामा जम्मा गरिदिने गरेको पाइएको छ । ‘पक्राउ परेकाहरुले नेपाली नागरिकका नाममा रहेका बैंक तथा डिजिटल वालेटका खातासमेत प्रयोग गरेको पाइएको छ । अहिलेसम्मको अनुसन्धानबाट विभिन्न बैंकका ४० वटा खाता प्रयोग गरेर ठगी गरेको पत्ता लाग्यो,’ मिश्रले भने ।

ठगीमा संलग्न गिरोहले नबिल, एनआईसी एसिया, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, ज्योति विकास, माछापुच्छ्रे र लक्ष्मी सनराइज लगायत विभिन्न बैंकका खाता प्रयोग गरेको पाइएको छ । त्यस्तै, ई–सेवाका १७ वटा खाता प्रयोग भएको प्रहरीले जनाएको छ ।

उक्त समूहले ठगीबाट प्राप्त रकम संकलन गरी विभिन्न व्यक्तिमार्फत भारत पठाउने गरेको भन्दै जाहेरी परेको हो । पक्राउ परेकाविरुद्ध अनलाइन ठगीमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।

‘हालसम्मको अनुसन्धानबाट १५ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । अझै लाखौं रकम अनलाइनमार्फत ठगी गरेको अनुमान छ । पीडितहरु जाहेरी दिन आउने क्रम जारी छ,’ डीएसपी मिश्रले भने । उनका अनुसार ५ दिनअघि पक्राउ परेकाहरुले अनलाइनमार्फत ठगी गर्नलाई ठूलो गिरोह खडा गरेको पत्ता लागेको छ ।

ठगीमा अरु पनि व्यक्तिहरु संलग्न रहेको पाइएपछि खोजी जारी राखिएको उनले बताए । अनलाइन ठगीमा परेका पीडितहरुलाई तत्काल जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आउन आह्वान गरिएको जानकारी डीएसपी मिश्रले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.