प्रारम्भिक बाल शिक्षाबारे कोशी प्रदेशस्तरीय सम्मेलन हुँदै

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार ११:२५

विराटनगर । प्रारम्भिक बाल शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन हुने भएको छ। विराटनगरमा मंसिर १२ र १३ गते आयोजना हुने सम्मेलनमा प्रदेशभरका चार सय शिक्षक सहभागी हुने आयोजकले जनाएको छ ।

रातो बङ्गला फाउन्डेसनको आयोजना तथा एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरको व्यवस्थापनमा हुने सम्मेलन प्रारम्भिक बाल शिक्षाको अभ्यास, प्रभावकारिता र यसलाई थप प्रभावकारी बनाउने उपायमा केन्द्रित हुनेछ।

फाउन्डेसनकी कार्यकारी निर्देशक एलिना सुब्बाका अनुसार सम्मेलनमा प्रारम्भिक बाल शिक्षामा भइरहेका अभ्यास, तिनको प्रभावकारिता र सुधारका लागि चाल्नुपर्ने कदमबारे छलफल हुनेछ। सम्मेलनको उद्घाटन कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गर्ने कार्यक्रम छ।

विराटनगरस्थित होटल स्वागतममा उद्घाटन हुने सम्मेलनका बन्दसत्र एभरेष्ट कलेजमा सञ्चालन हुनेछन्। सम्मेलनमा समूहगत छलफल र विषयगत प्रस्तुति हुनेछन्।

फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितले ‘व्यक्तिको समग्र विकासका लागि आधारभूत बुझाइ’ विषयमा प्रमुख प्रस्तुति दिनेछिन्। त्यस्तै, फाउन्डेसनका उपाध्यक्ष मिलन दीक्षितले बालकेन्द्रित सिकाइका ११ अत्यावश्यक विषयमा प्रस्तुति दिने कार्यकारी निर्देशक सुब्बाले बताइन्।

सम्मेलनको व्यवस्थापकीय जिम्मेवारी सम्हालेको एभरेष्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरीले यसले शिक्षण सिकाइमा एकरूपता ल्याउन र प्रभावकारी सिकाइमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। निजी तथा सामुदायिक विद्यालयका शिक्षक एकै ठाउँमा बसेर छलफल गर्ने भएकाले प्रारम्भिक बाल शिक्षाको विकासमा सम्मेलन उपयोगी हुने उनको भनाइ छ।

शैक्षिक सुधारका क्षेत्रमा २४ वर्षदेखि विभिन्न काम गर्दै आएको रातो बङ्गला फाउन्डेसनले यस्तै सम्मेलन सातै प्रदेशमा आयोजना गर्ने जनाएको छ। यसअघि हेटौँडा र पोखरामा सम्मेलन गरिसकेको फाउन्डेसनले कोशी प्रदेशको सम्मेलनपछि अन्य प्रदेशमा पनि आयोजना गर्नेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.