
विराटनगर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारीलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ । तर ती सहमतिबाट उद्योग, उत्पादन र निर्यात क्षेत्रमा वास्तविक लाभ लिन कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष भीम घिमिरेले बताएका छन् ।
उनले नेपाल र भारतबीचको सम्बन्धलाई राजनीतिक तथा कूटनीतिक तहमा मात्र सीमित नराखी आर्थिक सहकार्य, लगानी, व्यापार, ऊर्जा, पूर्वाधार र उत्पादनसँग जोड्ने प्रयास स्वागतयोग्य रहेको बताए ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले दुई देशबीचको आर्थिक सम्बन्धलाई सन्तुलित, व्यावहारिक र उत्पादनमुखी बनाउनुपर्ने उनको भनाइ छ । भ्रमणका क्रममा ऊर्जा, जलविद्युत्, पेट्रोलियम पूर्वाधार, कृषि, पशुपालन, औषधि, स्वास्थ्य, प्रविधि तथा सहरी विकासलगायतका क्षेत्रमा भएका सहमतिले नेपालको दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्याउन सक्ने उनले बताए ।
विशेषगरी जलविद्युत् विकास, विद्युत् प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन र पूर्वाधार निर्माणमा भारतीय लगानी तथा सहकार्य विस्तार हुन सके नेपालको औद्योगिकीकरणमा सहयोग पुग्ने घिमिरेको भनाइ छ । भारतले पुनर्निर्माण तथा पूर्वाधार विकासका लागि घोषणा गरेको अनुदान र सहुलियतपूर्ण ऋण सहयोगलाई पनि उनले महत्त्वपूर्ण मानेका छन् । तर त्यसबाट लाभ लिन आयोजना छनोट, लगानी परिचालन र कार्यान्वयन पारदर्शी, प्रभावकारी र छिटो हुनुपर्ने उनले बताए ।
भ्रमणका सहमतिले नेपाली उद्योग तथा उत्पादन क्षेत्रलाई तत्काल प्रत्यक्ष लाभ पुगिसकेको अवस्था भने नरहेको उनको भनाइ छ । नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउनुपर्ने, निर्यातका क्रममा देखिने गैरभन्सार अवरोध, गुणस्तर परीक्षण, प्रमाणपत्रको मान्यता र प्रशासनिक जटिलता हटाउनुपर्ने उनले औँल्याए ।
त्यस्तै, नेपाल–भारत व्यापार सन्धिको समयसापेक्ष पुनरावलोकन गरी नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । जुट, स्टिल, सिमेन्ट, इँटा, कृषि तथा अन्य उत्पादनमूलक उद्योगका समस्या समाधान गर्न उच्चस्तरीय पहल आवश्यक रहेको उनले बताए ।
नेपालमा भारतीय लगानी आकर्षित गर्न ऊर्जा, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग, पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानी तथा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । साथै विद्युत्को गुणस्तर र नियमित आपूर्ति, ढुवानी तथा वित्तीय लागत, भन्सार प्रक्रिया र औद्योगिक पूर्वाधारमा सुधार गरेर उत्पादन लागत घटाउनुपर्ने उनले बताए ।
घिमिरेले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच आर्थिक सहकार्य विस्तार गर्ने आधार तयार गरे पनि त्यसको सफलता सम्झौतामा नभई कार्यान्वयनबाट मापन हुनुपर्ने बताए । उद्योग स्थापना, उत्पादन वृद्धि, निर्यात विस्तार, रोजगारी सिर्जना र व्यापार घाटा न्यूनीकरणमा कति योगदान पुग्छ भन्ने विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
उनले भ्रमणका क्रममा प्राविधिक विषयमा अध्ययन गर्न आयोग वा संयन्त्र निर्माण गर्ने सहमति भएको भए त्यसले अनावश्यक समय लिन नहुने बताए । त्यस्तो आयोगले छिटो प्रतिवेदन दिएर त्यसको कार्यान्वयन तत्काल अघि बढाउनुपर्ने उनको भनाइ छ । त्यसो भए मात्रै मुलुकले निकास पाएको अनुभूति हुने उनले बताए ।
यद्यपि, अहिले नै भ्रमणबारे पूर्ण धारणा सार्वजनिक गर्ने पक्षमा आफूहरू नरहेको घिमिरेले बताए । दुवै देशका प्रधानमन्त्रीबीच एक घण्टा भएको गोप्य बैठकमा भएका छलफल र सहमति सार्वजनिक भएपछि थप धारणा राख्ने उनले जानकारी दिए ।

























