
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०७२ सालपछि मुलुकको राजनीति सत्ता केन्द्रित हुँदा पछिल्लो १० वर्षमा जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकिएको बताएका छन् । सरकार र राजनीतिक दलले समयअनुसारको जिम्मेवारी पूरा गर्न नसक्दा भदौ २३ र २४ गतेका घटना भएको उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले नेपालमा आएको जनसाङ्ख्यिक परिवर्तन, बसोबास र अर्थतन्त्रमा आएको बदलाव तथा विश्वमा नयाँ माध्यमको विकासलाई बुझेर सोहीअनुसार काम गर्नुपर्ने भए पनि त्यसमा चुकेको बताए ।
उनले भदौ २३ र २४ गतेका घटनालाई कम आँक्न नहुने निष्कर्षमा कांग्रेस पुगेको जानकारी दिए । ‘भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ । भदौ २३ र २४ गते भएका घटनालाई कम आँक्न हुँदैन भन्ने निष्कर्ष निकालेका छौँ,’ उनले भने ।
राष्ट्रिय पार्टीका रूपमा कांग्रेसले यस्ता घटनालाई अङ्कगणितमा मात्रै सीमित गरेर बुझ्न नहुने थापाको भनाइ थियो । घटनाको जरासम्म पुगेर त्यसको समाधानका लागि रणनीति बनाउनुपर्नेमा उनले जोड दिए ।

























