
विराटनगर । बालबालिकाको सिकाइको जग बलियो बनाउँदै प्रारम्भिक बाल शिक्षालाई थप प्रभावकारी, गुणस्तरीय र बाल केन्द्रित बनाउन कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा प्रदेशभरिका चार सय शिक्षक सहभागी भएर प्रारम्भिक बाल शिक्षाको वर्तमान अवस्था, अभ्यास, चुनौती र सुधारका उपायबारे छलफल गर्नेछन्।
रातो बंगला फाउन्डेसनको आयोजना तथा एभरेस्ट सेकेन्डरी स्कुल विराटनगरको व्यवस्थापनमा मंसिर १२ र १३ गते विराटनगरमा सम्मेलन हुन लागेको हो।
फाउन्डेसनकी कार्यकारी निर्देशक एलिना सुब्बाका अनुसार सम्मेलनमा प्रारम्भिक बाल शिक्षाका क्षेत्रमा भइरहेका अभ्यास, तिनको प्रभावकारिता र शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउन अपनाउनुपर्ने उपायबारे गहन छलफल हुनेछ।
सम्मेलनमा समूहगत छलफलसँगै विभिन्न विषयमा विज्ञहरूको प्रस्तुति रहनेछ। प्रमुख वक्ताका रूपमा फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितले ‘व्यक्तिको समग्र विकासका लागि आधारभूत बुझाइ’ विषयमा प्रस्तुति रहने छ ।
त्यस्तै, फाउन्डेसनका उपाध्यक्ष मिलन दीक्षितले बाल केन्द्रित सिकाइका ११ अत्यावश्यक विषयमा प्रस्तुति दिने कार्यकारी निर्देशक सुब्बाले जानकारी दिइन् ।
सम्मेलनको व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरिरहेको एभरेस्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरीले यसले शिक्षण सिकाइमा एकरूपता ल्याउनुका साथै प्रभावकारी शैक्षिक अभ्यास विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
निजी तथा सामुदायिक विद्यालयका शिक्षकलाई एउटै मञ्चमा ल्याएर अनुभव, ज्ञान र अभ्यास आदानप्रदान गरिने भएकाले सम्मेलनले प्रारम्भिक बाल शिक्षाको गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ।
शैक्षिक सुधारका क्षेत्रमा विगत २४ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको रातो बंगला फाउन्डेसनले सातै प्रदेशमा यस्ता सम्मेलन आयोजना गर्ने योजना बनाएको छ। यसअघि हेटौँडा र पोखरामा सम्मेलन सम्पन्न गरिसकेको फाउन्डेसनले कोशी प्रदेशपछि अन्य प्रदेशमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

























