
एजेन्सी । विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
गोल्ड वाल प्रेसको अनलाइन विवरणअनुसार ‘मा’ उपनामका ती अधिकारी विदेशमा कार्यरत रहँदा ‘काइलिन’ नामका विदेशी गुप्तचरको सम्पर्कमा पुगेका थिए । सुरुमा चिनियाँ भाषा सिक्ने बहानामा भेटेका काइलिनले पछि संवेदनशील राजनीतिक विषय र विदेशमा रहेका चिनियाँ संस्थाका गतिविधिबारे सूचना माग्न थालेका थिए ।
सहयोग नगरे जासुसी गरेको विषय सार्वजनिक गरिदिने धम्की दिएपछि मा जासुसी गर्न सहमत भएको प्रतिवेदनमा उल्लेख छ। उनले गोपनीयता र वफादारीसम्बन्धी सर्तसहितको सम्झौतामा हस्ताक्षर गरी मासिक रकम र सूचना आदानप्रदानका लागि ल्यापटपसमेत पाएका थिए।
विदेशको कार्यकाल सकेर चीन फर्किएपछि पनि उनले गोप्य कागजातबाट सूचना सङ्कलन गरी जासुसी वेबसाइटमार्फत पठाउने गरेको विवरणमा जनाइएको छ । उनले सयभन्दा बढी सूचना चुहाएको र ३५ वटा सूचना दिएबापत १० लाख युआनभन्दा बढी रकम लिएको अदालतले ठहर गरेको बताइएको छ ।
तर, मृत्युदण्डको सजाय कहिले र कुन अदालतले सुनाएको हो तथा कार्यान्वयन भइसकेको छ वा छैन भन्ने विवरण सार्वजनिक गरिएको छैन। चीनमा राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दाका अदालती विवरण विरलै सार्वजनिक हुने गरेका छन् । प्रतिवेदनले जासुसीमा भावनात्मक प्रभाव र ब्ल्याकमेलजस्ता उपाय प्रयोग हुन थालेकाले सचेत रहन आग्रह गरेको छ ।

























