बाढी प्रभावित जलविद्युत् आयोजनाको पुनर्निर्माणमा सहजीकरण माग

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार ११:२१

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरकारसँग नीतिगत तथा प्रशासनिक सहजीकरणको माग गरेको छ । प्रभावित आयोजनालाई पुनः निर्माण गरी सञ्चालनमा ल्याउन सरकारले आर्थिक सहयोगभन्दा पनि नीतिगत जटिलता हटाइदिनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले बताएका छन् ।

उनका अनुसार भोटेकोशी बाढीबाट प्रभावित १३ आयोजनामध्ये नौवटा निजी क्षेत्रका छन् । ती आयोजनाको शतप्रतिशत बीमा गरिएको उनले बताए । बीमा भएकै कारण पुनर्निर्माण सहज हुने भए पनि त्यस क्रममा देखिने नीतिगत, कानुनी तथा प्रशासनिक जटिलता समाधान गर्न सरकारको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

प्रभावित आयोजनाको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउनुपर्ने सहुलियत र सुविधासम्बन्धी विस्तृत प्रतिवेदन इप्पानले तयार गरी सरकारलाई बुझाइसकेको डाँगीले जानकारी दिए । प्रतिवेदनमा आर्थिक सहायताभन्दा पनि पुनर्निर्माणका क्रममा आवश्यक पर्ने नीतिगत सहजीकरणका विषयलाई प्राथमिकता दिइएको छ ।

‘हामीले निजी क्षेत्रका आयोजनाको शतप्रतिशत बीमा गरेका छौँ, अब त्यहाँ पुनर्निर्माण गर्नुपर्छ,’ उनले भने, ‘पुनर्निर्माण गर्दा आइपर्ने अप्ठ्यारामा सरकारले आर्थिक सहयोग गर्नुभन्दा नीतिगत सहजीकरण गरिदिनुपर्छ, त्यति भए हामी पुनर्निर्माणमा जान्छौँ ।’

डाँगीका अनुसार प्रभावित आयोजनाको पुनर्निर्माणका लागि सबैभन्दा महत्त्वपूर्ण माग अनुमतिपत्रको अवधि थप गर्नु हो । इप्पानले विद्युत् ऐन, २०४९ अनुसार आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष कायम गर्न सरकारसँग माग गरेको छ ।

प्राकृतिक विपद्का कारण निर्माण सम्पन्न हुन लागेका वा व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा रहेका आयोजनासमेत पुनर्निर्माणमा जानुपर्ने अवस्था आएकाले अनुमतिपत्रको अवधि थप गर्नुपर्ने उनको तर्क छ । व्यावसायिक सञ्चालनको तयारीमा रहेको लाङटाङ आयोजना पनि विपद्का कारण पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको उनले उदाहरण दि ।

निर्माणको अन्तिम चरणमा पुगेका र सञ्चालनको तयारीमा रहेका आयोजनाले पुनर्निर्माणका लागि थप समय र स्रोत खर्च गर्नुपर्ने भएकाले सरकारले अनुमतिपत्रको अवधि बढाउनुपर्नेलगायत नीतिगत सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

इप्पानले अघि सारेका मागप्रति सरकार पनि सकारात्मक रहेको डाँगीले बताए। प्रभावित आयोजनाको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेको र आवश्यक नीतिगत व्यवस्था गर्न सके निजी क्षेत्र सक्रियतापूर्वक काममा लाग्ने उनको विश्वास छ ।

भोटेकोशी बाढीपछि सुरुमा ऊर्जा उत्पादकहरूमा निराशा देखिए पनि विपद्को प्रकृति, क्षति र पुनर्निर्माणको आवश्यकतालाई बुझ्दै जाँदा निजी क्षेत्रको मनोबल बढेको उनले बताए । हजारौँ वर्षमा एकपटक हुन सक्ने यस्ता घटनालाई आधार बनाएर नेपालको जलविद्युत् स्रोतको उपयोग नै नगर्ने निष्कर्षमा पुग्नु उचित नहुने उनको धारणा छ ।

यसैबीच, डाँगीले प्रभावित जलविद्युत् आयोजनाको पुनर्निर्माणसँगै निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने प्रक्रिया पनि तीव्र बनाउनुपर्ने बताएका छन् । सरकारले आशयपत्र (एलओआई) दिइसकेका कम्पनीमध्ये आवश्यक योग्यता पूरा गरेकालाई लामो समय कुर्न नलगाई विद्युत् व्यापारको अनुमतिपत्र दिनुपर्ने उनको भनाइ छ ।

विद्युत् व्यापार सरकार–सरकार (जीटुजी) माध्यमबाट मात्रै नभई व्यवसायी–व्यवसायी (बीटुबी) माध्यमबाट अघि बढाउँदा बढी सहज, व्यावहारिक र प्रभावकारी हुने उनले बताए । ‘सरकार–सरकार काम गर्नुभन्दा बिजनेस–टु–बिजनेस काम गर्न सजिलो हुन्छ,’ उनले भने, ‘एक रुपैयाँ फाइदा हुँदा भारत र नेपालका कम्पनीले ५०–५० प्रतिशत नाफा बाँड्छन्, तर सरकारी तहमा त्यस्तो हुँदैन ।’

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.