सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १६:४२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपदमा घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने बताएकी छन् ।

राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने बताइन् । यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको अन्यत्र पठाउने प्रणाली व्यवस्थित हुने उनको भनाइ छ ।

मन्त्री मेहताले दुर्घटनापछिको उपचारमा अस्पतालपूर्वको आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको जानकारी दिइन् ।

देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न सङ्घीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा क्रियाशील बनाइएको उनले बताइन् ।

त्यस्तै, ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नगरी शारीरिक पुनःस्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्नेमा उनले जोड दिइन् । दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता तथा मानसिक समस्यालाई सम्बोधन गर्न पुनःस्थापना सेवाको विस्तार गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।

राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृति र दरबन्दी व्यवस्थापनका विषयलाई छिट्टै टुङ्गोमा पुर्‍याइने बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.