
काठमाडौं । नेपालको वैदेशिक व्यापार विस्तार हुँदै गएपनि आयातको तीव्र वृद्धिका कारण व्यापार घाटा झन् चुलिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालले ६ खर्ब ६८ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ६५ प्रतिशत बढी हो ।
भन्सार विभागको साउनदेखि कात्तिकसम्मको तथ्यांकअनुसार यस अवधिमा नेपालले ८ खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्ब ९ अर्ब रुपैयाँको आयात भएकोमा यस वर्ष आयात ३१ दशमलव ७७ प्रतिशतले बढेको हो ।
आयातसँगै निर्यात पनि उल्लेख्य रूपमा बढेको छ । नेपालबाट पहिलो चार महिनामा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको विभागको तथ्यांक छ । गत वर्षको सोही अवधिमा ९३ अर्ब रुपैयाँको निर्यात भएको थियो । यस वर्ष निर्यात ४३ दशमलव ४८ प्रतिशतले बढेको देखिएको छ ।
तर निर्यातमा भएको वृद्धिले आयातको दबाब कम गर्न सकेको छैन । आयात र निर्यात दुवै बढ्दा नेपालको कुल वैदेशिक व्यापार चार महिनामा ९ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब रुपैयाँ थियो । यस वर्ष कुल व्यापार ३३ प्रतिशतले विस्तार भएको हो ।
नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८५ दशमलव ६९ प्रतिशत र निर्यातको हिस्सा १४ दशमलव ३१ प्रतिशत रहेको छ । यसले आयातमा निर्भरता कायम रहेको र निर्यातको हिस्सा तुलनात्मक रूपमा कमजोर रहेको देखाउँछ ।
विभागको तथ्यांकअनुसार पहिलो चार महिनामा सबैभन्दा बढी ६२ अर्ब रुपैयाँको कच्चा भटमासको तेल आयात भएको छ । त्यसपछि ५९ अर्ब रुपैयाँको डिजेल र ३४ अर्ब रुपैयाँको पेट्रोल आयात भएको छ ।
कच्चा भटमासको तेल आयातमा ठूलो रकम खर्च भए पनि प्रशोधनपछि निर्यात भएको तेलको मूल्य ६१ अर्ब रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । आयात र निर्यात दुवैतर्फ भटमासको तेल प्रमुख वस्तु बनेको छ ।
निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार र गति निर्यातभन्दा बढी रहेकाले नेपालको व्यापार घाटा घट्नुको सट्टा थप विस्तार भएको देखिएको छ ।

























