कांग्रेस बैठकमा जनप्रतिनिधिलाई कारबाहीको माग

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १४:१५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक महाधिवेशनको विपक्षमा उभिएका जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने माग उठेको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेका बेला संस्थापन पक्षका नेताहरूले त्यस्तो गतिविधिमा संलग्न जनप्रतिनिधिमाथि कारबाहीको माग गरेका हुन् ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो दिन धारणा राख्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले पार्टीको विधि, विधान र प्रक्रियाविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

उनले पार्टीको टिकट, झण्डा र कार्यकर्ताको मेहनतबाट निर्वाचित भएका केही जनप्रतिनिधि नै पार्टीको नीति तथा हितविपरीत गतिविधिमा लागेको आरोप लगाए । त्यस्ता जनप्रतिनिधिको तथ्यगत छानबिन गरी विधानअनुसार अनुशासनको कारबाही गर्नुपर्ने उनको माग छ ।

‘पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि, प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न छन्,’ उनले बैठकमा भने ।

तिमिल्सिनाले अनुशासन उल्लंघन गर्ने जनप्रतिनिधिलाई कारबाही गरी निर्वाचन आयोगमार्फत पदमुक्त गर्नसमेत माग गरे ।

यसअघि मंगलबारको बैठकमा सभापति गगन थापाले पनि देउवा पक्षको महाधिवेशनमा सक्रिय हुने जनप्रतिनिधिको विषयमा कारबाहीको संकेत गरेका थिए ।

बैठकमा तिमिल्सिनाले पार्टीका गतिविधिलाई प्रभावकारी बनाउन अभियान, कार्ययोजना र कार्यविभाजनसहित पार्टीपंक्तिलाई परिचालन गर्नुपर्ने धारणा राखे ।

उनले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान महासंघ, ट्रेड युनियन, दलित संघ तथा लोकतान्त्रिक खेलकुद संघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाको तीनदेखि छ महिनाभित्र अनिवार्य अधिवेशन गर्ने कार्यतालिका बनाउन पनि सुझाव दिए ।

त्यसैगरी, बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, सुरक्षित आवास निर्माण तथा पुनर्निर्माण अघि बढाउन र शिक्षा, स्वास्थ्य एवं जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारमाथि दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र संस्थागत संरचनाको संरक्षणका लागि संसद् र सडक दुवै माध्यमबाट सरकारलाई खबरदारी गर्नुपर्ने उनले बताए ।

सरकारका स्वेच्छाचारी गतिविधि, भ्रष्टाचार तथा राष्ट्रिय हित र कूटनीतिक मर्यादाविपरीतका गतिविधिमाथि पार्टीले स्पष्ट धारणा राखेर प्रतिरोध गर्न ढिलाइ गर्न नहुने तिमिल्सिनाको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.