
धनकुटा । कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखा चियाका हरिया बोटले ढाकिएका थिए । चियाखेतीबाट राम्रो आम्दानी हुने आशामा किसानले अन्य बाली छाडेर बगान विस्तार गरेका थिए । तर, अहिले बजार र उचित मूल्य नपाएपछि किसानले चिया टिप्नै छाडेका छन् । वर्षौँदेखि गोडमेल र छाँटकाँट नहुँदा हरिया बगान झाडीमा परिणत भएका छन् ।
२०५५ देखि २०७२ सम्म चियाखेती विस्तार गरेका राम्चेका किसान गोविन्दबहादुर थापाले अन्य बालीभन्दा चियाबाट राम्रो आम्दानी हुने आशामा खेती सुरु गरेका थिए । तर, समय बित्दै जाँदा उनले सोचेजस्तो मूल्य र बजार पाउन सकेनन् । उत्पादन बिक्री नभएपछि खेतीमा गरेको लगानीसमेत उठाउन नसकेको उनको गुनासो छ ।
स्थानीय सरकारले चिया किसानलाई आवश्यक सहयोग र बजार व्यवस्थापनमा पर्याप्त चासो नदिँदा थप निराश बनेको थापाले बताए । वर्षौँको मिहिनेत र लगानीबाट तयार भएका चियाका बोट अहिले बगानमै खेर गइरहेको उनको भनाइ छ ।
थापाको जस्तै समस्या पाख्रीबासका अर्का किसान धनबहादुर बस्नेतले पनि भोगिरहेका छन् । करिब १० रोपनी क्षेत्रफलमा चियाखेती गरेका उनले उत्पादन बिक्री नहुँदा बगानको नियमित हेरचाह गर्न सकेका छैनन् । तीन–चार वर्षदेखि छाँटकाँट र गोडमेल नहुँदा चियाका बोट बढेर जङ्गलजस्तै बनेका छन् ।
उत्पादन बिक्री नहुने र बगान व्यवस्थापन गर्दा थप खर्च लाग्ने भएपछि किसान दोहोरो मारमा परेका छन् । पुरानो चिया बगान हटाएर अन्य बाली लगाउने सोच बनाए पनि त्यसका लागि आवश्यक खर्च जुटाउन कठिन रहेको बस्नेतले बताए ।
पाख्रीबासकै अर्का किसान विमल राईले पनि १५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक चियाखेती गरेका छन् । तर, उद्योगले अपेक्षाअनुसारको मूल्य नदिँदा उनी पनि समस्यामा छन् । चिया बिक्री नभएपछि करिब तीन वर्षदेखि बगानको गोडमेल र छाँटकाँट गर्न नसकेको उनले बताए ।
उत्पादित चियाको उचित बजार र मूल्य पाउनु मुख्य चुनौती बनेको राईको भनाइ छ । बजार सुनिश्चित नहुँदा खेतीमा लगानी गर्ने उत्साह घट्दै गएको छ । वर्षौँसम्म हुर्काएका बोट उपयोगविहीन बन्न थालेपछि किसानको लगानीसमेत खेर गइरहेको छ ।
स्थानीय किसानले उत्पादन गरेको चिया प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा राम्चे अग्र्यानिक चिया उत्पादक सहकारी संस्थाले केही वर्षअघिसम्म उद्योग सञ्चालन गर्दै आएको थियो । किसानले उत्पादन गरेको चिया खरिद गर्ने उक्त उद्योगमा ग्रिन टी, ब्ल्याक टी र ह्वाइट टीजस्ता विशेष प्रकारका चिया उत्पादन गरिन्थ्यो । स्थानीय उत्पादन प्रशोधन गरेर बजारसम्म पुर्याउने व्यवस्थाले किसानमा चियाखेतीप्रति उत्साह पनि बढाएको थियो ।
तर, उद्योग सञ्चालनका लागि पर्याप्त विद्युत् सेवा नपुग्दा लामो समयसम्म जेनेरेटरको भर पर्नुपरेको थियो । डिजेल र पेट्रोलको मूल्य बढ्दै गएपछि सञ्चालन खर्च धान्न नसकेर उद्योग बन्द भयो । त्यसको प्रत्यक्ष असर स्थानीय चिया किसानमा परेको छ । उद्योग बन्द भएपछि उत्पादन खरिद गर्ने भरपर्दो ठाउँ नहुँदा किसानले चिया बिक्री गर्न पाएका छैनन् । त्यसयता बगानको नियमित हेरचाहदेखि उत्पादित चिया बिक्रीसम्मका समस्या बढ्दै गएको किसानको भनाइ छ ।
अन्य बाली छाडेर चियाखेतीमा भविष्य खोजेका किसान अहिले आफ्नै बगानका बोट हेरेर निराश हुनुपर्ने अवस्थामा पुगेका छन् । चिया उद्योग पुनः सञ्चालनका लागि पाख्रीबास नगरपालिकाले पहल नगरेको उनीहरूको गुनासो छ ।
नगरपालिकामा उद्योग सञ्चालनका लागि माग आएको भए पनि बजेट अभावका कारण केही गर्न नसकिएको नगरप्रमुख ज्ञानबहादुर गुरुङले बताए । किसानले ठूलो बजेट माग गर्ने गरेको तर नगरपालिकासँग सामान्य सहयोग गर्न सक्ने अवस्था पनि नरहेको उनको भनाइ छ ।



















