
काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म बागमती प्रदेश पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। हालसम्म ६८ पदकको टुंगो लाग्दा बागमतीले ९ स्वर्णसहित कुल १९ पदक जितेको छ।
दोस्रो दिनसम्म २२ स्वर्ण, २२ रजत र २४ कांस्य गरी कुल ६८ पदकको छिनोफानो भएको हो। बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जित्दै अग्रता कायम गरेको छ।
पदक तालिकामा राष्ट्रिय खेलाडी संघ (एनआरएनए) ले नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पछि पार्दै दोस्रो स्थानमा कब्जा जमाएको छ। एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी ९ पदक जितेको छ।
नेपाल पुलिस क्लबले ३ स्वर्ण, ७ रजत र ८ कांस्य तथा त्रिभुवन आर्मी क्लबले २ स्वर्ण, ८ रजत र ८ कांस्य पदक जितेका छन्। दुवै टोलीले समान १८ पदक जिते पनि स्वर्ण पदकका आधारमा पुलिस अगाडि रहेको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजतसहित ३ पदक जित्दा कोशी प्रदेशले १ स्वर्ण पदक हात पारेको छ।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भए पनि विभिन्न खेलका प्रतिस्पर्धा भने त्यसअघि नै सुरु भइसकेका छन्।

























